© 2026
काठमाडौँ, ३ असोज ।
बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने भएको छ । बजेट पुनरावलोकनका लागि शुक्रबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अध्ययनको स्वीकृति प्रदान गरेको छ ।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार, वर्तमान विषम परिस्थितिमा बजेटको अभाव देखिएको र प्रदेशभरको प्रशासनिक पुनर्संरचनाका लागि थप आर्थिक भार पर्ने भएकोले बजेट पुनरावलोकन आवश्यक भएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो ।
निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले ल्याएको ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट सुरुवातदेखि विवादित बनेको थियो । विवाद समाधानका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधिहरूले अध्ययन कार्यदल गठन गरी बजेटमा देखिएका त्रुटी र बदनीयतको अध्ययन गरेका थिए ।
बिहीबार साँझ हेटौंडामा बसेको सर्वदलीय बैठकले पनि प्रदेश सरकारको खर्च कटौती गर्ने निर्णय गरेको थियो । बजेट पुनरावलोकनमार्फत सरकारले खर्च कटौती, प्रशासनिक संरचनामा सुधार र योजना कार्यान्वयन प्रक्रियामा सुधार गर्ने तयारी गरेको छ ।
अघिल्लो मन्त्रिपरिषद् बैठकले १० लाख वा सो भन्दा माथिका योजना मात्र ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने निर्णय गरेको थियो । अघिल्लो सरकारले चालूतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन गरेको थियो ।