© २०२३
बाँके, ३ असोज ।
नेपालगन्ज– विगत ११ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबिच सहकार्य हुने भएको छ ।
यही मङ्सिर ६ गते शनिवार हुने ११ औँ संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरूमा यति एयरलाइन्सले सघाउने गरी सम्झौता भएको हो ।
यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज विष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोग्राम म्यानेजर कपिल थापाले सम्झौता पत्र आदान प्रदान गरे । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ ।
वल्र्ड रनिङको साझा साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को पूर्णकालीन सदस्य धारा नेपालगन्ज म्याराथनका विजेता एवं शीर्ष नेपाली धावकहरूलाई विश्वकै शीर्ष म्याराथनहरूमा सहभागिताको अवसर प्रदान गर्ने वातावरण बनाउँदै अगाडि बढेको एम्सका नेपाल प्रतिनिधि एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् ।
नेपालगन्ज म्याराथनले इभेन्टको दायरा फराकिलो बनाउन र सबैलाई अपनत्व भाव जगाउन फरक फरक संस्थासँग सहकार्य गदैं अघि बढेको छ । यसअघि थाइल्यान्डमा हुने विश्व स्तरीय बाङ्सेन रनिङ सिरीजीमा धावक, पदाधिकारी तथा सदस्यहरूका लागि अनुभव बटुल्ने र क्षमता अभिवृद्धि गर्ने अवसर दिनका लागि सम्झौता गरेको छ ।
यसले बर्सेनि दर्जनौँ धावक तथा म्याराथनको उत्थानमा अहोरात्र खटिने व्यक्तिहरूलाई अवसरको ढोका खोलिदिएको छ । अन्य स्वदेशी तथा विदेशी सङ्घसंस्था, म्याराथन आयोजक, व्यापारिक घराना, खेलकुद सामग्री उत्पादक तथा वितरक कम्पनीहरूसँग सहकार्य गर्दै अघि बढ्ने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।
‘धारा नेपालगन्ज म्याराथन धावकका लागि त हो नै, समुदायका हरेक सदस्य लाभान्वित हुने प्लेटफर्म हो ।’ संस्थापक ठकुरीले भने ‘यसका हरेक सदस्यले वैदेशिक भ्रमणको अवसर पाउनुका साथै यति एयरलाइन्सको सहुलियत टिकट पाउनेछन्, सम्झौता हुने खेलकुद सामग्री उत्पादक तथा वितरकबाट पनि हरेक सदस्यले विशेष सहुलियत पाउने व्यवस्था मिलाइनेछ ।’
नेपालगन्ज कनक्लेवका लागि विभिन्न पेसागत एवं व्यावसायिक संघसंस्थासँग सहकार्य गर्ने तयारी समेत अगाडि बढेको छ । म्याराथनको तयारीबारे चाँडै सार्वजनिक गरिनेछ ।