© २०२३
गणतान्त्रिक संविधान जारी भएको आज ठिक १० वर्ष पूरा भएको छ । एक दशक पूरा भएको यो संविधानमाथि अझै पनि घोचपेच, थिचोमिचो र प्रहारका घटना भइरहेका छन् । कुनै पनि संविधान अटल हुँदैन ।
समय र देश, काल परिस्थिति अनुसार त्यसमा संशोधन हुन्छ । नेपालको संविधानमा संशोधनको माग उठेको छ । वि.सं. २०७२ साल असोज ३ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा राष्ट्रपति डा. रामबरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नुभएको थियो ।
संविधान जारी भएको दिनको स्मरणमा नेपालमा संविधान दिवस मनाइँदै आइएको छ । संविधान जारी भएपछि मुलुकमा राजनैतिक स्थिरता, शान्ति र सुशासन कायम हुने अपेक्षा गरिएको थियो तर त्यो अहिलेसम्म हुन सकेको छैन ।
संविधान र व्यवस्थाप्रति नै विमति राख्दै केही दलहरूले अहिले पनि असन्तुष्टि व्यक्त गर्दै आएका छन् । सारमा भन्दा यो संविधान अहिले पनि चुनौतीको धारमा छ । संविधान दिवस मनाउँदै गर्दा पछिल्लो पटक जेनजी पुस्ताले गरेको आन्दोलनले संविधानमा पुनरावलोकन गर्नुपर्ने म्याण्डेड दिएको छ ।
जेनजी आन्दोलनले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाको माग गरेको छ । त्यसका लागि संविधानमा संशोधन आवश्यक हुन्छ । संसदको दुई तिहाई बहुमतले मात्रै संशोधन गर्न सक्छ तर अहिले संसद विघटनको अवस्था छ ।
देशको सर्वोच्च निकाय संसदनै नरहेको अवस्थामा संविधानमा संशोधनको दवाव कार्यान्वयन चुनौतीपूर्ण अवस्थामा छ । नेपाली जनताको लामो बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिने काममा दलहरू चुक्दाको परिणाम आज मुलुकले भोग्नु परेको छ । मुलुकले राजनैतिक स्थायित्व पाउन सकेन् ।
अर्कोतर्फ राजनीतिक दलहरूबीचको अन्तद्र्वन्द्वका कारण संविधानको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन् । राजनीतिक दलहरू मुलुकको भाग्य र भविष्य निर्माण गर्नेभन्दा पनि दलीय स्वार्थ र दलभित्रको गुट–उपगुटमा लिप्त छन् । जुनसुकै लोकतान्त्रिक देशमा संविधानलाई मूल कानुन मानिन्छ ।
तर नेपालमा पटकपटक संविधानकै धज्जी उडाउने काम हुँदै आएको सर्वविदित छ । २०७२ सालको संविधान जारी भएपछि मुलुकले राजनैतिक स्थिरता पाउने विश्वास गरिएको थियो तर आफ्नो राजनैतिक स्वार्थ पूर्ति गर्न संविधान संशोधनका नाममा संविधानलाई नै लंगडो बनाउने काम विगतमा भएको विर्सन सकिदैन् ।
संविधान जारी भएपछि राजनीतिक अस्थीरता समाप्त हुने र मुलुक नयाँ युगमा रूपान्तरित हुने आम नागरिकको अपेक्षा थियो तर १० बर्षको परिपक्व संविधानमा फेरी संशोधनको आवश्यकता महसुस भएको छ ।
अव नेपालको संविधान २०७२ लाई नै आधार मान्दै यसमा संशोधन गर्नु समयको माग हो भन्दा अन्यथा हुँदैन । जेनजी आन्दोलनले पनि त्यो दिशा निर्देश गरेको छ । संविधानमा संशोधनलाई अस्वाभाविक मान्न सकिदैन ।
हाम्रै छिमेकी देश भारतमा ३ सय ९४ भाग रहेको संसारकै सबैभन्दा लामो लिखित संविधानमाथि ९५ संशोधन भैसकेको छ । तसर्थ संशोधनलाई समय र परिवर्तनको उपज मान्दा अस्वाभाविक नहोला ।
अव जेनजी आन्दोलनको माग पूरा गर्ने सवालमा संविधानमा संशोधनको आवश्यकता छ । अव मुुलुक त्यसतर्फ अघि बढोस् । संविधान संशोधनमा राष्ट्रिय सहमति कायम होस् ।
इतिहास साक्षी छ–संविधान जारी भएको एक बर्षमै पहिलो संशोधन भएको थियो । संविधानले १० बर्षे आयु पूरा गर्दैगर्दा संविधान कार्यान्वयनको विषयलाई लिएर कतिपय राजनीतिक दलले चुनौति सिर्जना गर्दै आएका छन् ।
कसैको निहित स्वार्थमा संविधानमा संशोधन हुन सक्दैन । संशोधनमा राष्ट्रिय आवश्यकता बोध हुनुपर्दछ । अव दलहरू मिलेर पटकपटक परिवर्तन होइन, एकपटक संशोधन गरि मुलुकको राजनीतिक भविष्य सुनिश्चित गर्ने काम होस् ।
२०७२ सालको संविधान ऐतिहासिक छ । शहिदको बलिदा(नबाट प्राप्त यो संविधान जारी गर्दा देशले ठूलो प्रसव पीडा भोगेको बिर्सन सकिदैन । ७४ जनाको बलिदानपछि यसमा संशोधनको आवश्यकता बोध र औचित्य पुष्टी भएको अवस्था छ । अव २०७२ सालकै संविधानलाई मियो मान्दै संविधान संशोधनमा राष्ट्रिय सहमति कायम होस् ।