© २०२३
कतार, २ असोज ।
सुशासन, पारदर्शीता र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको ऐतिहासिक आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) कतारद्वारा विशेष शोक सभा आयोजना गरिएको छ ।
शोकसभा कार्यक्रम बुधवार साँझ दोहामा सम्पन्न भएको हो । एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आन्दोलनमा ज्यान गुमाएका ७४ जना युवाहरुको तस्बिरमा माल्यार्पण गर्दै एक मिनेट मौनधारण र दीप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै फूल अर्पण गरेका थिए । साथै, आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारी तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कतारका प्रतिनिधि मोहम्मद रमजान अली मियाँले जेन्जी आन्दोलनलाई नेपालको राजनीतिक इतिहासमा एक निर्णायक मोडको रूपमा व्याख्या गरे । उनले “नेता गाडीमा, हाम्रा बुवा–आमा खाडीमा“ भन्ने नाराले आफूलाई गहिरो रूपमा छोएको बताउँदै आन्दोलनले नयाँ पुस्ताको राष्ट्रप्रेम र समर्पण झल्काएको धारणा राखे ।
उनले भने, “यो केवल प्रदर्शन थिएन, यो पुस्तान्तरणको सन्देश थियो। देशले सुशासन र पारदर्शिता पाउनेछ भन्ने आशा हामी सबैमा जागेको छ ।”
एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले जेन्जी आन्दोलनले २४ घण्टा भित्रै सत्ता परिवर्तन गर्न सक्ने युवाशक्ति देखाएको बताए । उनले यो आन्दोलन विश्वकै उदाहरणीय युवा क्रान्ति बन्ने विश्वास व्यक्त गरे । साथै, भ्रष्ट्राचारविरुद्धको यस ऐतिहासिक आन्दोलनमा कुनै पनि संस्था वा पक्षको ‘घुसपैठ’ प्रयासप्रति घोर आपत्ति जनाउँदै अन्तरिम सरकारसँग निष्पक्ष छानबिनको माग समेत गरे ।
पन्थीले थपे, “जेन्जीले उठाएका एजेन्डाहरू अब सरकारको प्राथमिकतामा पर्नुपर्छ। सहिद बनेका कलिला युवाहरूको बलिदान व्यर्थ जानुहुँदैन । सबै नेपाली एक ढिक्का भएर समृद्ध राष्ट्र निर्माणमा लाग्नुपर्छ ।”
नेपाल सरकारले जेन्जी आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरिसकेको छ । सहिद परिवारलाई प्रति व्यक्ति रु. १० लाख राहत दिने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको छ । हाल विभिन्न अस्पतालहरूमा उनीहरूको उपचार भइरहेको छ ।
कतारमा सम्पन्न शोकसभाले विश्वभर रहेका नेपालीहरुलाई आन्दोलनमा बलिदान दिने सहिदहरूको सम्झना गर्न र सुशासनका लागि निरन्तर दबाब दिन प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।