© २०२३
नवलपरासी, २ असोज ।
नारायणी नदीमा आएको बाढीको कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ को थारु टोलमा पानी पसेपछि स्थानीयहरूले पानी थुन्ने र बाध बाँध्न थालेका छन् ।
तीन तर्फबाट नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको यो बस्तीमा नारायणी नदीमा बाढी आएपछि हरेक वर्ष जलमग्न हुने गरेको छ ।
नदीमा पानीको सतह घट्दोक्रममा रहे पनि सम्भावित क्षती हुन नदिन स्थानीहरू जुटेको सुस्ता बचाउ अभियानका रविन्द्र जयसवालले बताए ।
मङ्गलबार देखि परेको वर्षाको कारण नारायणी नदीमा बाढी आयो । बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ को सुस्ता बस्ती नजिकै कटान गरेको छ । हेर्दाहेदै बाढीले जमिन कटान गरेपछि बस्तीमा बाढी पस्ने जोखिम हुने भएकाले स्थानीले बस्तीतर्फ पानी पस्ने सम्भावित स्थानमा बाध बाँध्न थालिएको जसवालले बताए।
स्थानिय रुपमा उपलब्ध स्रोत ढुँगा , माटो बालुवा बोरामा राखेर बाध बाध्ने,डोरी,स्याउला,प्लास्टिक,काठ दाउरा प्रयोग गरेर पानी रोक्ने प्रयास गरिएको छ । नारायणी नदि किनारमा रहेका बस्तीहरु बर्षेनी पानी पसेर डुबान हुँदा उनिहरु बर्षायाममा सधैं त्रासमा बस्दै आएका छन् ।