© २०२३
गुल्मी, ०२ असोज ।
जिल्लाको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिका जोड्नका लागि छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । धुर्कोटको वस्तु र इस्माको राङ्दलचौर जोड्नका लागि छल्दीमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो ।
सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत एक करोड ८४ लाखको लागतमा निर्माण गरिएको उक्त झोलुङ्गे पुलको ७ सय ९९ जना मानिस अट्ने भारवाहन क्षमता रहेको छ । छल्दी खोलामा निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयहरूको घण्टौँको दुरीलाई घटाउनुका साथै नागरिकहरूलाई सहज बनाएको छ ।
भौगोलिक हिसाबले पहाडी क्षेत्रमा टाढा टाढा रहेका वारी र पारीका गाउँलाई जोड्नका लागि झोलुङ्गे पुलले विकासमा भिन्नै महत्त्व बोकेको स्थानीयले बताएका छन् । २०७४ सालमा क्षेत्र नं. २ मा २७ वटा झोलुङ्गे पुलका योजना समावेश गरिएकोमा अधिकांश पुल निर्माण सम्पन्न भएको बताइएको छ ।
त्यसका अतिरिक्त पुल, सडक, खानेपानी, सिँचाई लगायतका पूर्वाधार निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई थप सहज पुगेको छ ।
झोलुङ्गे पुलले जिल्लाको पर्यटकीय स्थल विचित्र गुफालाई समेत यति बेला राजमार्गबाट नजिक बनाएको छ ।
पुल नहुँदा खोला तर्ने बाध्यतामा रहेका स्थानीय र हिमालय मावि पुग्ने विद्यार्थीहरूलाई समेत ठुलो राहत पुगेको स्थानीय बोमलाल भण्डारीले बताए । लामो तथा अग्लो स्थानमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण त्यस क्षेत्रमा दैनिक घुम्न, टिकटक बनाउन र तस्बिर खिचाउन आउने आन्तरिक पर्यटकहरू बढ्न थालेका छन् ।
पुलले मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमल टारीबाट यात्रालाई नजिक बनाएको छ । झोलुङ्गे पुल निर्माण भएसँगै धुर्कोट गाउँपालिका –५ स्थित वस्तुमा रहेको विचित्र गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्यामा समेत वृद्धि भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताएका छन् ।
मदन भण्डारी राजमार्गबाट पुल तरेपछि १० मिनेटमा विचित्र गुफा पुग्न सकिने भएको छ । लामो पुलका कारण यस क्षेत्रको पर्यटन विकासमा समेत थप टेवा पुगेको छ ।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले तिनै तहका सरकारको समन्वयमा उक्त क्षेत्रमा थुप्रै विकास निर्माणका कामहरू अगाडि बढेको बताएका छन् । उक्त पुलको निर्माण निलगिरी निर्माण सेवा प्रालिले गरेको थियो ।