© २०२३
काठमान्डौ, २ असोज ।
भदौ २३ र २४ गतेको ध्वंसात्मक घटनापछि बिहीबार खुलेको सेयर बजारमा लगातार नेगेटिभ सर्किट ब्रेक लाग्दा कारोबार स्थगित भएको छ । दिनभर नेप्से परिसूचक करिब ६ प्रतिशत घटेर २५११ अंकमा पुगेको छ ।
बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार स्थगित भई पुनः खुलेको बजारमा थप १ प्रतिशत गिरावट आएपछि, ११: २३ बजे दोस्रो सर्किट ब्रेक लाग्यो ।
दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार रोकियो । १२:०४ बजे पुनः खुलेको बजारमा थप १ प्रतिशत गिरावट आएपछि कुल ६ प्रतिशतले घटेर तेस्रो सर्किट ब्रेकसँगै आजका लागि कारोबार पूर्ण रूपमा स्थगित भयो ।
दिनभर बजारमा कुल करिब ४ मिनेट मात्रै कारोबार सम्भव भएको थियो । कुल कारोबार रकम ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
व्यापार समूह सबैभन्दा बढी ९.३४ प्रतिशतले घटेको छ । अन्य समूहहरूमा ७.४८, होटल तथा पर्यटन ७.२४, लगानी ७.१८ प्रतिशतले मूल्य घटेको छ । बैंकिङ ५.५२, विकास बैंक ५.१३, फाइनान्स ४.५२, हाइड्रोपावर ५.४०, जीवन बीमा ६.६६, उत्पादन तथा प्रशोधन ५.०२, माइक्रोफाइनान्स ४.०८ र निर्जीवन बीमा ५.४२ प्रतिशतले घटेका छन् ।
विशेषगरी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीमा भारी गिरावट आएपछि सम्बन्धित समूहहरूमा उच्च प्रभाव देखिएको छ । आज १६ कम्पनीको मूल्य १० प्रतिशतसम्म घटेको छ ।