© २०२३
काठमाडौं, २ असोज ।
नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने तयारी गरेको छ । प्रणालीमा २ खर्ब रुपैयाँभन्दा बढी तरलता देखिएपछि केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत अतिरिक्त तरलता सोस्ने निर्णय लिएको हो ।
राष्ट्र बैंकका अनुसार बुधबारसम्म वित्तीय प्रणालीमा २ खर्ब ४ अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ । सोही आधारमा केन्द्रीय बैंकले १० दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गरी ९० अर्ब रुपैयाँ बराबरको अतिरिक्त तरलता संकलन गर्न लागेको हो ।
यस प्रक्रियामा बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो अतिरिक्त तरलता केन्द्रीय बैंकमा राख्न सक्नेछन् । राष्ट्र बैंकले न्यूनतम ब्याजदर माग गर्ने संस्थालाई प्राथमिकताका आधारमा छनोट गर्नेछ । प्रणालीमा अत्यधिक तरलता देखिएको वर्तमान अवस्थामा निक्षेप संकलनको ब्याजदर घट्ने संकेत देखिएको छ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तरबैंक ब्याजदरको व्यवस्थापन गर्न निक्षेप संकलन, स्थायी निक्षेप सुविधा जस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ । तरलता अभाव भएको अवस्थामा भने स्थायी तरलता सुविधा वा रिपोमार्फत प्रणालीमा पैसा प्रवाह गरिन्छ ।
तरलता प्रवाह गर्दा राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सिमा अर्थात् ‘बैंक दर’ मा ब्याज लिन्छ, भने तरलता संकलन गर्दा करिडोरको तल्लो सिमा स्थायी निक्षेप सुविधा दर बराबर ब्याज प्रदान गर्छ । हाल बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।
हालैका दिनहरूमा जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण बैंक तथा वित्तीय संस्थाहरू केही दिनका लागि बन्द हुँदा मौद्रिक व्यवस्थापनमा चुनौती देखिएको थियो । सो अवधिमा बैंकहरूमा निक्षेप वृद्धि हुनुका साथै प्रणालीमा तरलता थपिएको छ ।
यस साता मंगलबारसम्म केन्द्रीय बैंकसँग ६ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ बराबरको मौद्रिक मौज्दात रहेको छ । जसमध्ये ४ खर्ब ४ अर्ब रुपैयाँ स्थायी निक्षेपका रूपमा रहेको छ भने २ खर्ब ६६ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलनमार्फत संकलन गरिएको हो ।