© २०२३
काठमाडौं, २ असोज ।
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार निर्वाचन आयोगमा आयोजित छलफल कार्यक्रममा सहभागी हुँदै मन्त्री अर्यालले विदेशमा रहेका नेपालीहरूले कम्तीमा समानुपातिक निर्वाचन प्रणालीमार्फत भए पनि मतदान गर्न पाउनुपर्ने धारणा राखे ।
“विदेशमा रहेका नेपाली नागरिकले समानुपातिक प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनु पर्छ भन्ने आग्रह बलियो बन्दै गएको छ,” उनले भने, “सर्वोच्च अदालतले आदेश दिएको पनि धेरै भइसकेको छ । अब यसलाई कार्यान्वयन गर्नैपर्छ ।”
मन्त्री अर्यालले प्राविधिक समस्याका कारण केही देशहरूमा मतदानको पूर्ण व्यवस्था सम्भव नभए पनि जहाँ सम्भव छ, त्यहाँ आवश्यक व्यवस्था मिलाउने आफ्नो प्रयास रहने उल्लेख गरे ।
“जहाँ हाम्रो राजदूतावासहरू छन्, ती स्थानबाट प्रविधिको प्रयोगमार्फत मतदानको व्यवस्था मिलाउनु पर्छ,” उनले थपे, “राज्यले प्रविधिको प्रयोग गरेर विशेष गरी युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउनुपर्ने आवश्यकता छ ।”
उनले विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकारबाट वञ्चित गरिनु नहुनेमा जोड दिँदै भने, “नेपाल सरकारबाट गर्न सकिने सबै प्रयास हामी गर्छौं । मलाई विश्वास छ निर्वाचन आयोगले पनि यसमा आवश्यक सहजीकरण गर्ने छ ।”