Butwal Today

जेनजी आन्दोलनपछिको क्षतिमा बीमा कम्पनीहरूमा २१ अर्ब रुपैयाँको दाबी

२ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।
‘जेनजी आन्दोलन’ का कारण सार्वजनिक तथा निजी संरचनामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा कम्पनीहरूमा दर्ता भएका माग दाबीको रकम करिब २१ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार देशभरका निर्जीवन बीमा कम्पनीहरूमा भदौ ३१ गते (मंगलबार) सम्म प्राप्त माग दाबीको रकम २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ रहेको छ ।

हाल देशमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनी गरी कुल १८ वटा कम्पनी सञ्चालनमा छन् । ती कम्पनीहरूमध्ये सबैभन्दा धेरै बीमा दाबी दि ओरियन्टल इन्स्योरेन्समा परेको छ ।

सो कम्पनीमा ४० वटा माग दाबी निवेदन दर्ता भएका छन्, जसअनुसार ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ । उक्त दाबीमा हिल्टन होटलको बीमा दाबी पनि समावेश छ ।

त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोड रुपैयाँ बराबरको बीमा दाबी परेका छन् । सो कम्पनीमा हालसम्म २५८ वटा दाबी निवेदन प्राप्त भएका छन् । भाटभटेनी समूहका अधिकांश बीमा यिनै कम्पनीमार्फत गरिएको बताइएको छ ।

शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेका छन् भने ३६६ वटा निवेदन दर्ता भएका छन् ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ, जसअन्तर्गत २४ वटा निवेदन परेका छन् ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ बराबरको २३३ वटा दाबी दर्ता भएका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ बराबरका १९६ वटा निवेदन परेका छन् भने नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरका ४० वटा निवेदन दर्ता भएका छन् ।

इन्स्योरेन्स कम्पनीहरूमध्ये सबैभन्दा कम दाबी नेशनल इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा १९ वटा निवेदनमार्फत ६ करोड रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ ।

लघु इन्स्योरेन्स कम्पनीहरूमध्ये प्रोएक्टिभ इन्स्योरेन्समा १ करोड १३ लाख रुपैयाँ बराबरको बीमा दाबी परेका छन् भने अन्य लघु बीमा कम्पनीहरूमा करोड रुपैयाँभन्दा कम मात्र दाबी दर्ता भएको बीमा प्राधिकरणले जनाएको छ ।

गत भदौ २३ र २४ गते काठमाडौँसहित देशका विभिन्न स्थानहरूमा जेनजी पुस्ताका युवाहरूले सामाजिक बेथिति र भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका थिए ।

आन्दोलनको क्रममा सार्वजनिक तथा निजी संरचनामा आगजनी र तोडफोड गरिएको थियो, जसबाट व्यापक भौतिक क्षति भएको थियो ।

सोही क्षतिको आधारमा हाल बीमा कम्पनीहरूमार्फत ठूलो परिमाणमा बीमा दाबी दर्ता भइरहेको छ ।