© २०२३
बर्दिया, २ असोज ।
चाडपर्व नजिकिए पनि बर्दियाको सदरमुकाम गुलरिया बजार सुनसान देखिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात सरकारी कार्यालय र अन्य कामकाज भए पनि बजारमा सर्वसाधारणको चहलपहल भने कम छ ।
जेनजी आन्दोलनपछि सरकारमा परिवर्तन भए तापनि स्थानीयहरूले चाडपर्वको अवसरमा समान किनमेलमा खासै चासो नदेखाएको गुलरियाका कपडा व्यवसायी सुदिप ढकालले बताए । “गत वर्ष दसैँ नजिकिएपछि बजार भरीभराउ हुने गरेको थियो, तर यस वर्ष सुनसान देखिएको छ । बजारमा ग्राहक नआएपछि व्यापारमा घाटा भइरहेको छ,” उनले भने ।
सदरमुकाम गुलरिया मात्र नभई भारतको भन्सारसँग जोडिएको बजार पनि सुनसान देखिएको छ । भारत र गुलरिया दुबै स्थानमा मानिसको चहलपहल बढी हुने गरेको थियो, तर अहिले दुवै ठाँउ सुनसान रहेका छन् ।
स्थानीय विष्णु चौधरीका अनुसार, “गत वर्ष चाडपर्वको समयमा अदालत, बैंक तथा मालपोतमा मानिसको चाप बढी हुन्थ्यो, तर यस वर्ष त्यस्तो अवस्था देखिएको छैन ।”
अहिले गुलरिया बजारमा सरकारी कार्यालयको कामकाज भए तापनि सर्वसाधारणको उपस्थितिमा कमी छ, जसले स्थानीय व्यवसायीलाई आर्थिक असर पुर्याएको छ ।