Butwal Today

फेसबुकदेखि टिकटकसम्म: ‘९४ कटेज’ र ‘चिया पसले’ सामाजिक सञ्जालमा ट्रेन्डिङ

परम्परागत शैलीमा बनेका, मौलिक स्वाद र संस्कृति झल्काउने दुई क्याफे– ९४ कटेज र ९४ चिया पसले – पछिल्लो समय बुटवलमा लोकप्रिय गन्तव्य बनेका छन्। यी क्याफेहरू केवल खाना खाने ठाउँ मात्र नभई उद्यमशीलता, मौलिकता र अवसर सिर्जना गर्ने उदाहरणका रूपमा चिनिँदै गएका छन्।
२ आश्विन २०८२, बिहीबार
अ+
अ-

बुटवल, २ असोज ।

परदेशतिर मात्र होइन, आफ्नै देशमै नयाँ सोच र मेहनत गरेर सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् २५ वर्षीय युवा व्यवसायी जीवन कुँवर।

उनको नेतृत्वमा सञ्चालन भइरहेका बुटवलका दुई फरक क्याफे– ९४ कटेज र ९४ चिया पसले – अहिले स्थानीय तथा बाहिरी आगन्तुकबीच लोकप्रिय गन्तव्य बन्दै गएका छन्।

बुटवल–११ कालिकानगर र होराइजन चोकमा अवस्थित यी क्याफेहरू नेपाली मौलिक शैली र स्वाद प्रस्तुत गर्ने विशेष प्रयासको परिणाम हुन्। खर र बाँसको प्रयोगले बनेको क्याफे संरचना आफैंमा आकर्षक देखिन्छ।

खुला वातावरणमा रमाउन चाहने ग्राहकका लागि यी ठाउँहरू एउटा अद्वितीय अनुभवको थलो बन्न पुगेका छन्। जीवन कुँवर भन्छन्– “हामीले विदेशी शैली हुबहु नक्कल गर्ने सोच बनाएका छैनौं। आफ्नै मौलिकता झल्काउने वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो।”

मौलिकता स्वादमै पसलको सजावट मात्र होइन, मेनुमा पनि मौलिकता झल्किन्छ। रातो भाले, सेकुवा, ढिंडो र नेपाली खाजा जस्ता परिकारहरूले ग्राहकलाई आफ्नै संस्कृतिमा हराउने मौका दिन्छ। फ्युजनको नाममा विदेशी खानामा भर पर्ने प्रवृत्तिबाट अलग, यी क्याफेहरू नेपाली स्वादलाई आधुनिक प्रस्तुतिमा भिजाएर दिने प्रयासमा छन्।

रोजगारी र सम्भावना करिब दुई करोड रुपैयाँ लगानी गरेर सुरु गरिएका यी क्याफेहरूले अहिले ३९ जना नेपाली युवालाई प्रत्यक्ष रोजगारी दिएका छन्।

विदेशमा मात्र पसिना बगाएर भविष्य बनाउन सकिन्छ भन्ने धारणा तोड्दै कुँवर भन्छन्– “देशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु। म विदेश जानुभन्दा आफ्नै ठाउँमा मेहनत गर्ने अठोटका साथ अघि बढेको हुँ।” डिजिटल प्रचार र सामाजिक लोकप्रियता फेसबुक, इन्स्टाग्राम, गुगल र टिकटकमार्फत निरन्तर सक्रिय यी क्याफेहरू विशेष गरी विद्यार्थी, युवा र परिवारलाई लक्षित गरेर प्रचार–प्रसार गरिरहेका छन्।

रमाइलो वातावरण, स्वादिलो खाना र फोटो खिच्न मिल्ने आकर्षक सजावटका कारण यी ठाउँहरू सामाजिक सञ्जालमै ट्रेन्डिङ बन्न पुगेका छन्। स्वाद, संस्कृति र सम्भावनाको संगम ९४ कटेज र ९४ चिया पसले केवल खाना खाने ठाउँ मात्र होइनन्, संस्कृति, मौलिकता र नयाँ सम्भावनाको संगम हुन्।

बुटवलबासीका लागि गर्वको विषय बनेका यी क्याफेहरू अब अन्य शहरका आगन्तुकलाई पनि आकर्षित गर्ने क्षमता बोकेका छन्। यस्ता युवा उद्यमशीलताले न केवल रोजगारी सिर्जना गरेको छ, बरु “देशमै अवसर छ” भन्ने सन्देश पनि दिएको छ। जीवन कुँवर र उनका क्याफेहरू अब बुटवलको पहिचानसँग जोडिएका छन्—जहाँ स्वाद, वातावरण र प्रेरणा तीनै कुरा भेटिन्छ।