Butwal Today

पाँच महिनामा विपद् घटनाबाट २४३ जनाको ज्यान गयो

२ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २ असोज ।

यस वर्ष वैशाखदेखि भदौ मसान्तसम्मको पाँच महिनामा विभिन्न विपद् घटनाबाट २ सय ४३ जनाको ज्यान गएको छ । त्यसैगरी २४ जना हराइरहेका छन् भने ८ सय ६९ जना घाइते भएका छन् । उक्त जानकारी राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको छ ।

प्राधिकरणका अनुसार, उक्त अवधिमा ३ हजार ३ सय ८१ वटा विपद् घटनाबाट ६ हजार ५ सय ९० परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी सर्पको टोकाइबाट ७७ जनाको ज्यान गएको छ ।

त्यसैगरी, बाढीमा २९ जनाको ज्यान गुमेको छ भने २३ जना हराइरहेका छन् । पहिरोले २४ जनाको र चट्याङले ३८ जनाको ज्यान लिएको छ । आगलागीमा परी २३ जनाको मृत्यु भएको छ भने जनावरको आक्रमणबाट २० जनाको ज्यान गएको छ । १८ जनाको लेक लागेर ज्यान गएको प्राधिकरणले जनाएको छ ।