© २०२३
काठमान्डौ, १ असोज ।
विषम राजनीतिक परिस्थितिका बाबजुद पनि सरकारले यस वर्ष पनि संविधान दिवस औपचारिक रूपमा मनाउने तयारीमा जुटेको छ । संविधान जारी भएको सम्झनामा प्रत्येक वर्ष असोज ३ गते मनाइने संविधान दिवसका लागि तयारी अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
संविधान दिवस मूल समारोह समितिको अध्यक्षता प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन् । यसअघिकै सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको थियो । उक्त समितिको बैठक बसिसकेको छ । बैठकबाट सबै निकायहरूलाई कार्यक्रम संचालनका लागि परिपत्र गरिसकिएको छ।
गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीका अनुसार टुँडिखेलस्थित सैनिक मञ्चमा यसअघि जस्तै मूल समारोह आयोजना गरिनेछ, जसमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संवैधानिक परिषद्का पदाधिकारी एवम विशिष्ट व्यक्तिलाई गृह मन्त्रालयले पत्राचार गरिसकेको छ । कार्यक्रममा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नेछिन् ।
संविधान दिवसका कार्यक्रम काठमाडौं उपत्यकाका साथै देशभरका जिल्ला सदरमुकाम र स्थानीय तहमा पनि हुनेछन् । प्रत्येक तहमा समन्वयका लागि समिति गठनको व्यवस्था गरिएको छ ।