© २०२३
काठमाडौँ ।
भारतीय स्पिनर वरुण चक्रवर्ती पहिलो पटक आईसीसी टी–२० बलिङ वरीयताको शीर्ष स्थानमा पुगेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा चक्रवर्ती ३ स्थान उक्लिएर शीर्ष स्थानमा पुगेका हुन् । जसप्रीत बुमराह र रवि बिश्नोईपछि चक्रवर्ती टी–२० बलिङ वरीयताको शीर्ष स्थानमा पुग्ने तेस्रो भारतीय बलर बनेका छन् ।
टी–२० बलिङ वरीयतामा न्युजिल्यान्डका ज्याकोब डुफे दोस्रो र वेस्ट इन्डिजका अकेल होसेन तेस्रो स्थानमा छन् । नेपालका ललित राजवंशी ५९औं, सन्दीप लामिछाने ७७औं र दीपेन्द्रसिंह ऐरी ८४औं स्थानमा छन् ।
टी–२० ब्याटिङ वरीयतामा भारतका अभिषेक शर्मा शीर्ष, इङ्गल्याण्डका फिल साल्ट दोस्रो र जोस बटलर तेस्रो स्थानमा छन् । यसमा नेपालका दीपेन्द्रसिंह ऐरी ६५औं, रोहित पौडेल ७२औं, आसिफ शेख ८०औं र कुशल भुर्तेल ८३औं स्थानमा छन् ।
टी–२० अलराउन्डर वरीयतामा भारतका हार्दिक पान्ड्या शीर्ष, अफगानिस्तानका मोहम्मद नबी दोस्रो र जिम्बावेका सिकन्दर राजा तेस्रो स्थानमा छन् । नेपालका दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा झरेका छन्, भने कुशल भुर्तेल ३४औं, गुल्सन झा ५८औं, रोहित पौडेल ६९औं, कुशल मल्ल ७१औं र करण केसी ९०औं स्थानमा छन् ।