© २०२३
काठमान्डौ, १ असोज ।
कक्षा १२ को स्थगित मौका ( पूरक ) परीक्षा यही असोज ७ गते मङ्गलवार र ८ गते बुधवारका दिन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले आज संशोधित तालिका सार्वजनिक गर्दै नयाँ मितिमा परीक्षा सञ्चालन हुने जानकारी दिएको हो ।
यसअघि परीक्षा भदौ २८ र २९ गते हुने तय गरिएको थियो । तर, जेन–जी आन्दोलनका कारण परीक्षा स्थगित गरिएको थियो ।
संशोधित तालिका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ । सोही दिन एक मात्र विषयमा परीक्षा दिने परीक्षार्थीले तोकिएको विषयको परीक्षा दिनेछन् । दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि भने आफूले दिने विषयहरूमध्ये सानो कोड नम्बर भएको विषयको परीक्षा असोज ७ गते हुनेछ। तर, यदि परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषय दिने भए पहिलो दिन अङ्ग्रेजी र दोस्रो दिन नेपाली विषयको परीक्षा दिनुपर्नेछ ।
त्यस्तै, असोज ८ गते दुई विषयका परीक्षार्थीका लागि ठूलो कोड नम्बर भएको विषयको परीक्षा तोकिएको छ । यस दिन भने अनिवार्य अङ्ग्रेजीको परीक्षा सञ्चालन हुने छैन ।
परीक्षा बिहान ११ बजे सुरू भई दिउँसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
