© २०२३
काठमान्डौ, १ असोज ।
जिल्ला प्रहरी परिसर काठमान्डौले राजधानीका सुनचाँदी व्यवसायीहरूलाई बिना बिल–बीजक गरगहना सुनचादी खरिद–बिक्री नगर्न आग्रह गरेको छ । प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो कार्य गैरकानुनी भएको स्पष्ट पार्दै, संलग्न भेटिएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, २०७२ भदौ २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा राजधानीका विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाटका घटना भएको जानकारी प्रहरीले प्राप्त गरेको छ । प्रदर्शनको आडमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र व्यक्तिगत घरमा समेत लुटपाट भएको तथा त्यस्ता घटनामा बहुमूल्य गरगहना तथा सरसामान चोरी भएको विवरणहरू आएको प्रहरीले जनाएको छ ।
‘उक्त आपराधिक समूहले लुटिएका गरगहना राजधानीका सुनचाँदी पसलमा विक्री गर्न ल्याउने सम्भावना उच्च रहेकोले, कुनै पनि बिल–बीजकबिना गरगहना खरिद नगर्नुहुन आग्रह गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, यस जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२ वा नजिकको प्रहरी कार्यालयमा सो को जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।
प्रहरीले सबै सुनचाँदी व्यवसायी, खरीददार तथा नागरिकलाई सतर्क रहन र कानूनअनुसारको कारोबार गर्न आग्रह गरेको छ ।