© २०२३
बर्दिया, १ असोज ।
गुलरिया नगरपालिकामा भएको सार्वजनिक सम्पत्ति तोडफोड तथा लुटपाटमा संलग्न व्यक्तिहरुको खोजीमा प्रहरीले सक्रियता बढाएको छ ।
प्रहरीले आइतबार करिब आधा दर्जन व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको छ । घटनाको भिडियो फुटेजको आधारमा संलग्न व्यक्तिहरुको पहिचान गर्दै अनुसन्धान तीव्र बनाइएको प्रहरी स्रोतले जनाएको छ । लुटपाटबाट क्षतिग्रस्त सरकारी सम्पत्तिमध्ये कतिले फिर्ता गरिसकेका छन् भने कतिले फिर्ता गरेका छैनन् ।
फरार रहेका व्यक्तिहरुको खोजतलासमा प्रहरीले प्रयास गरिरहेको छ । प्रदर्शनकारीहरुले गत मंगलबार राति आठ बजे नगरपालिकामा तोडफोड तथा आगजनी गरेका थिए । गुलरिया नगरपालिकाका अनुसार सो घटनाबाट करिब रु २ करोड बराबरको क्षति भएको छ ।
प्रदर्शनकारीहरुले सोही दिन नेपाली काँग्रेस र एमाले पार्टी कार्यालय, पूर्वमन्त्री संजय कुमार गौतमको घर, गणेशमानको शालिक लगायत तोडफोड तथा आगजनी गरेका थिए ।