Butwal Today

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख

१ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १ असोज ।

जेनजी प्रदर्शनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन् ।

कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत चित्रकारको उपचार नेतृत्व गर्दै आएकी जलन विशेषज्ञ डा. किरण नकर्मीका अनुसार, उनको अवस्था अस्पताल ल्याउँदाको तुलनामा सुधार भएको छ ।

आज देब्रे हातको शल्यक्रिया गर्ने तयारी गरिएको र त्यसपछिका उपचार प्रक्रिया अवस्थाअनुसार अघि बढाइने उनले बताइन् ।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालले पत्नी चित्रकारको फोक्सो र देब्रे हातमा गम्भीर समस्या देखिएको जानकारी दिएका छन् ।

उनका अनुसार, आगलागीका क्रममा फोक्सोमा हानिकारक ग्यास प्रवेश गरेको र देब्रे हातमा गहिरो जलन भएको छ । यस कारण शल्यक्रिया अघि आवश्यक एनेस्थेसिया दिन कठिनाइ भएको बताइएको छ ।

नेता खनालले योजनाबद्ध रूपमा आफ्नो परिवारलाई लक्षित गरेर आपराधिक घटना गराइएको आरोप लगाउँदै स्वदेशी तथा विदेशी केही सञ्चारमाध्यमले गलत समाचार सम्प्रेषण गरेकोप्रति दुःख व्यक्त गरे ।

उनले भने, “यस किसिमका आपराधिक र अमानवीय घटनाको कडा शब्दमा निन्दा गर्दछु । संलग्न पक्षलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु ।” खनालले आफ्नै घरमा भएको तोडफोड, आगजनी र लुटपाटसँग सम्बन्धित प्रमाण फेला पर्न थालेको उल्लेख गर्दै ती प्रमाण चाँडै सार्वजनिक गर्ने बताए ।