Butwal Today

घटस्थापनापछि देशभर वर्षा क्रम घट्ने सम्भावना

१ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेपालमा मनसुन सकिने अवधि नजिकिदै गर्दा देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार, यसपटक मनसुन औसतभन्दा बढी वर्षा गर्ने पूर्वानुमान भए पनि हालसम्म सरदरभन्दा कम पानी परेको छ ।

भदौ अन्तिमसम्म ९० प्रतिशत वर्षा हुनु पर्नेमा ८० प्रतिशत मात्र वर्षा भएको विभागले जनाएको छ । हालसम्म जुम्ला मापन केन्द्रमा मात्र सरदरभन्दा बढी वर्षा मापन गरिएको छ । डडेल्धुरा, घोराही, जोमसोम, धरानमा औसत वर्षा भएको छ भने जनकपुर, सिमरा, विराटनगर, धनकुटा, ताप्लेजुङ, पोखरा, नेपालगन्जमा सरदरभन्दा निकै कम वर्षा भएको बताइएको छ ।

मौसमविद् डेभिड ढकालका अनुसार, भारततर्फ न्यूनचापीय रेखा भए पनि बंगालको खाडी र अरब सागरबाट पर्याप्त जलवाष्प आइरहेकाले नेपालका धेरै ठाउँमा पानी परेको छ । आगामी २४ घण्टामा मधेस प्रदेश, लुम्बिनीको तराई तथा कोशी, बागमती, कर्णालीका पहाडी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

डा. धर्मराज उप्रेतीका अनुसार, आगामी दुई/तीन दिन केही ठाउँमा पानी पर्ने देखिएको छ, तर त्यसपछि मनसुन कमजोर हुँदै जान्छ । उनले भने, “सेप्टेम्बर २१ देखि पानी पर्ने क्रम घट्नेछ । पश्चिमी नेपालबाट मनसुन बाहिरिन थाल्छ, गण्डकी, बागमती र पूर्वी भागमा ठूलो वर्षा देखिंदैन ।”

नेपालमा मनसुन सरदरमा जुन १३ मा भित्रिन्छ, तर यो वर्ष १५ दिन अघिदेखि प्रवेश गरेको थियो। तर, प्रवेश पछि १५ दिनसम्म स्थिर रह्यो र पूर्वी भागमा पर्याप्त वर्षा नभएकोले तराईका केही जिल्लामा खानेपानी संकट देखिएको थियो ।

नेपालमा मनसुन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट अक्टोबर २ देखि, कोशी प्रदेशबाट अक्टोबर १५ सम्म बाहिरिन्छ । डा. उप्रेतीका अनुसार, आगामी एक हप्ताभित्र मनसुन पश्चिम नेपालबाट बाहिरिन थाल्नेछ ।

छिमेकी भारतमा पनि पन्जाब, असम–मेघालयको तल्लो तटीय क्षेत्र र अन्य धेरै भागबाट मनसुन बाहिरिएको छ । नेपालमा पनि अबको एक हप्तापछि मनसुन बाहिरिने अनुमान गरिएको छ ।