Butwal Today

फेरिएको हो त सरकारी कर्मचारीको व्यवहार ?

१ आश्विन २०८२, बुधबार
अ+
अ-

नवलपरासी, ०१ असोज ।

जेनजी आन्दोलन पश्चात् सरकारी सेवा दिइने सेवा प्रदायक कार्यालयमा व्यवहार परिवर्तनको अनुभूति सेवाग्राहीले महसुस गरेका छन् ।

जिल्लाका धेरै कार्यालय जलेको भए पनि सदरमुकाममै रहेको मालपोत कार्यालय र नापी कार्यालयमा कुनै क्षति नपुगेर विना अवरोध सेवा प्रवाह भई रहँदा जेनजी आन्दोलन पहिला र अहिलेमा कर्मचारीको व्यवहारमा परिवर्तन देखिएको सेवा लिन पुगेका सेवाग्राहीले महसुस भएको बताएका हुन् ।

विगतमा विभिन्न बहाना बनाउँदै साँझसम्म अल्झाउने कर्मचारीको गतिमा धेरै सुधार पाइएको सेवाग्राही उपेन्द्र चौधरीले बताए । पहिला पहिला भन्दा पनि नसुने झैँ गर्ने, तर अहिले पुग्ने बित्तिकै तपाईँको के काम हो ? भन्दै फाइल मागेर तुरुन्तै गर्नु पर्ने काम गरिदिँदा फरक महसुस गरेको उनले सुनाए ।

आन्दोलनको प्रभाव यसरी महसुस गर्न पाइयो, खुसी पनि लाग्यो, उनले भने, इमानदारी पूर्वक काम गर्न चाहेमा सजिलै हुँदो रहेछ, यो अवस्था सबैलाई सधैलाई रहिरहोस् भन्ने चाहना छ । अहिले कामको गति सहज र सरल बनाइदा दिउँसो ३ बजे भित्रै काम सकिएको देख्दा अचम्म लागेको एक स्थानीयले बताए ।

सेवामा आएको सुधारबारे प्रतिक्रिया दिँदै मालपोत कार्यालयका प्रमुख दामोदर भण्डारीले सबै कर्मचारी सच्चिएर अगाडि बढ्नु पर्ने कुरा आइतबार कार्यालय खुल्दा नै बैठकमा उठेको बताए । सेवाग्राहीसँग गरिने नम्र व्यवहार, सहजीकरण, सेवामा छिटोछरितो, भ्रमित बनाउनु भन्दा चित्त बुझ्दा परामर्श गर्नुपर्ने आचरणबारे पनि कुरा उठेको थियो ।

कर्मचारीले काम गर्दा लिइने अनुचित लाभ, (रकम) मात्रैले सेवाग्राहीको चित्त दुखाउँदैन, सेवाग्राहीसँग गरिने व्यवहारले पनि चित्त दुखाउने हुँदा सेवाग्राहीलाई फरक अनुभूति हुने गरी काम गर्न गराउन निर्देशन दिइएको उनको भनाई थियो ।

जुन अहिले सेवाग्राहीले अनुभूति गर्न थालेका छन् । अझै केही कैफियत देखिए कार्यालय प्रमुखलाई गुनासो गर्नुपर्ने उनले आग्रह गरेका थिए । कर्मचारीको सेवाग्राहीप्रति गरिने व्यवहार प्रति बैठकमै कुरा उठेको लेखापढी कानुन व्यवसायीका केन्द्रीय उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले बताए ।

अहिले व्यवहारमा देखिएको छ, उनले भने, यो सकारात्मक कुरा हो, निरन्तरता पाउनु पर्छ । यस्तै वातावरण सधैँ हुनुपर्ने अपेक्षा लेखापढी कानुन व्यवसायी समितिका अध्यक्ष चौथी कोहारले बताएका थिए ।

भ्रष्टाचार हुने अड्डाको रूपमा बदनाम मालपोत र नापी कार्यालय जोगिनु र भूमि आयोगका फाइल जल्नुमा संयोग वा आक्रोश हो भनेर पनि विभिन्न टीकाटिप्पणी भइरहेको छ । यसमा जनताले यी कार्यालय जलाउँदा जल्ने फाइलका कारण पछि आफैलाई दुःख पाउने महसुसले पनि यी दुई कार्यालयमा आगजनी नगरेको हुन सक्ने आनुमान गरिएको छ ।

आयोगले भूमिहीन सुकुम्वासीका काम भन्दा अव्यवस्थित जग्गा व्यवस्थापन तर्फ बढी ध्यान केन्द्रित गर्दा आक्रोश भएको पनि हुन सक्ने आङ्कलन गरिएको छ । आईतवारदेखि सुचारु राख्न सरकारले गरेको निर्देशन अनुसार जिल्लाका अधिकांश कार्यालयबाट सेवा सुचारु भएका छन् ।

सेवाग्राही कम मात्रामा आए पनि कार्यालयमा क्षति नपुगेका कार्यालयहरूले सेवा सुचारु राखेको र क्षति पुगेका कार्यालयहरूले आंशिक सेवा दिन सुचारु गरेका छन् । सदरमुकाम परासीमा पनि जिल्ला अदालत, मालपोत कार्यालय, नापी कार्यालय, प्रशासन कार्यालयका सबै सेवाहरू सहज ढङ्गले भएको थियो । विगतको तुलनामा कम सेवाग्राही आएको देखिएको थियो ।

बैङ्क तथा वित्तीय संस्थाहरू पनि भिडभाड बढेको थियो ।  जिल्लामा तिन करोड भन्दा बढी क्षति भएको अनुमान क्षतिमुल्याँकन गर्ने टोलीले अनुमान गरेको छ । भूमि आयोग समेत रहेको जिल्ला समन्वय समितिमा पनि क्षति ७२ लाख भन्दा बढी भएको जिल्ला समन्वय समितिका प्रमुख भगवती प्रसाद यादव (रुदल) ले जानकारी गराएका थिए ।

भदौ २४ गते जेनजीको आन्दोलनमा नवलपरासीमा भएका क्षतिहरूमा सरकारी कार्यालयहरू मध्ये जिल्ला समन्वय समिति – समान पुरै बाहिर निकालेर आगो लगाइएको छ, जिल्ला प्रशासन कार्यालय:– गेटमा सामान्य क्षति, करदाता सेवा कार्यालय:– भित्र पसेर तोडफोड, कागज लथालिङ्ग अवस्थामा, नवलपरासी जिल्ला अदालत – बाहिर गेटमा र भित्र पनि क्षति, जिल्ला सरकारी वकिलको कार्यालय– समान तोडफोड, आगजनी, जिल्ला कारागार नवलपरासी– समान तोडफोड, आगजनी, कैदी फरार, राष्ट्रिय आवास कम्पनी:– आगजनी, उद्योग वाणिज्य सङ्घ बर्दघाट:– आगजनी, रामग्राम नगरपालिका:– गाडी पूर्णमा जलाएर नष्ट, भित्र कुर्सी, सोफा कागजातमा एसीमा आगो, सुनवल नगरपालिका:– सामान्य क्षति भएको थियो ।

यसै गरी बर्दघाट नगरपालिका:– नगरपालिका परिसर भित्र रहेको गाडी समान, भित्र रहेको सोफा, कागजहरू जलेर नष्ट, केही वार्ड कार्यालयमा समेत आगो,पाल्हिनन्दन गाउँपालिका:– एलसिडी, सिसिटिभी र बाहिर आवरणमा तोडफोड, सरावल गाउँपालिका:– पालिका भित्रका सोफा,कुर्सी, कागज लगायतमा आगो, सभा हलमा पनि आगो, २ र ७ नम्बर वडा कार्यालयमा आगजनी, प्रतापपुर गाउँपालिका:– एउटा गाडी, गेट, भित्रका सोफा आदिमा आगो, अन्य कागजातमा समेत आगो,सुस्ता गाउँपालिका:– गाउँपालिकाका गाडी, समान कागजातमा आगो , जलेर नष्ट र महेशपुर बस पार्क:– सालिक तोडफोड, सामान्य क्षति थियो ।

यसै गरी नवलपरासीका नेताहरू घरमा क्षतिमा पूर्व मन्त्री हृदेश त्रिपाठीको घर तथा निज को छोराले सञ्चालन गरेको चकलेट उद्योगमा आगजनी, प्रतिनिधि सभा सदस्य सरिता भुसालको घरमा आगो, प्रतिनिधि सभा सदस्य विनोद चौधरीको सचिवालयमा आगजनी, तोडफोड तथा लुटपाट, संविधान सभा सदस्य विक्रम खनालको घरमा आगजनी , लुटपाट, लुम्बिनी प्रदेशका मन्त्री देवकरण कलवारको घरमा लुटपाट र आगजनी, प्रदेश सभा सदस्य बैजनाथ जयसवालको निजी सचिवालयमा आगो, लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकको घरका सामानहरू मा आगजनी, पूर्व लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र अधिकारीको घरका सामानहरू मा आगजनी,प्रतापपुर गाउँपालिकाका अध्यक्षको दुई वटै घरमा र उपाध्यक्षको घरमा आगजनी तोडफोड लुटपाट गरिएको थियो ।

त्यसैगरि सुनवल नगरपालिकाका मेयर उपमेयरको घरमा सामान्य क्षति,बर्दघाट नगरपालिकाका मेयर उपमेयरको घरमा आगजनी, पूर्व मेयर धीरज शर्माको घरमा समेत आगजनी, पाल्हिनन्दन गाउँपालिकाका अध्यक्षको घरमा तोडफोड तथा उपाध्यक्षको घरमा तोडफोड, लुटपाट तथा बहुमूल्य सामानमा आगजनी भएको थियो भन्ने राजनीतिक दलका कार्यालयहरूमा क्षति, परासीमा रहेको नेपाली काँग्रेसका दुई वटा कार्यालयमा आगजनी, परासीमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी, परासीमा नेकपा माओवादीको पार्टी कार्यालयमा आगजनी, तोडफोड, सुनवलमा रहेको नेपाली काँग्रेस पार्टी कार्यालयमा तोडफोड तथा आगजनी, सुनवलमा रहेको नेकपा एमालेको पार्टी कार्यालय तोडफोड तथा आगजनी, बर्दघाटमा रहेको एमाले र नेपाली काँग्रेस पार्टी कार्यालयमा आगजनी, देवेन्द्र राज कँडेल र बैजनाथ जयसवालको निजी सचिवालयमा तोडफोड र आगजनी भएका थिए ।