© २०२३
काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना सम्पत्तिबारे प्रश्न उठेपछि अस्ट्रेलियाली पत्रकारसँग रिसाएका छन् । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का पत्रकार जोन लियोन्सले ट्रम्पलाई सोधे, “जनवरीमा राष्ट्रपति बनेयता तपाईं कति धनी हुनुभयो ?”
ट्रम्पले “मलाई थाहा छैन” भन्दै जवाफ दिए । उनले पारिवारिक व्यवसाय हाल आफ्ना छोराछोरीले व्यवस्थापन गरिरहेको पनि बताए ।
यस क्रममा ट्रम्पले पत्रकारलाई अस्ट्रेलियासँगको सम्बन्धमा नकारात्मक प्रभाव पार्ने व्यवहार गरेको आरोप लगाउँदै प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग यसबारे उल्लेख गर्ने चेतावनी दिए । “तपाईंले खराब वातावरण सिर्जना गर्नुभएको छ,” उनले भने ।
पत्रकारले अर्को प्रश्न गर्न खोज्दा ट्रम्पले औँला ओठमा राख्दै “चुप” भने र अर्को पत्रकारतर्फ फर्किए । घटनापछि पत्रकार लियोन्सले आफूले सोधेको प्रश्न विनम्र, जायज र अनुसन्धानमा आधारित रहेको जिकिर गर्दै, “दुई देशबीचको सम्बन्ध बिग्रिन्छ भन्नु बेकारको सोच हो” टिप्पणी गरे ।