© २०२३
काठमाडौँ ।
जनमत पार्टीका अध्यक्ष डा सिके राउतले पार्टी छोड्ने मौका यही भएको बताएका छन् । राउतलाई अध्यक्षबाट राजीनामा दिनका लागि ६ नेताहरूले २४ घण्टे अल्टिमेटम दिएपछि राउतको यस्तो भनाई आएको हो । राउतले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, यही सही मौका हो, जनमत पार्टी छोड्नलाई। मौकाको सदुपयोग गर्नुहोस् ।
उनले अगाडि भनेका छन्,’प्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने। यदि कसैलाई पार्टीमा उकुसमुकुस लागि रहेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ, पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नुपरेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको छ भने योभन्दा राम्रो मौका आउनेछैन। किनकि अहिले कुनै बहाना पनि चाहिँदैन। जेनजी आन्दोलन छ, युवाहरूको रापताप छ।’
उनले पार्टीलाई स्वच्छ, वफादार, इमानदार र क्रियाशील सदस्यहरूको पार्टी बनाई शुद्धीकरण अभियानमा सहयोग गरिदिन आग्रह गरे ।
जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै राउतकाे राजीनामा माग गरिएकाे थियाे ।
केन्द्रीय प्रवक्ता डा.शरतसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बमले राउतको राजीनामा मागेका हुन् ।