© २०२३
बुटवल, ३१ भदौ ।
नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्र फेरि संकटमा फसेको छ । पछिल्ला केही महिनायता देशभर फैलिएको राजनीतिक अस्थिरता, आन्दोलन र हिंसात्मक घटनाले गर्दा विदेशी पर्यटकको आगमनमा करिब ३० प्रतिशतले गिरावट आएको छ । सामान्यतया ट्रेकिङ सिजन सुरु हुने यो समय पर्यटनको उच्च समय मानिन्छ, तर यस वर्ष होटलहरू खाली, बुकिङ रद्द, र व्यवसायी आर्थिक संकटमा छन् ।
भ्रष्टाचारविरुद्ध सुरु भएको ’जेनजि आन्दोलन’ सुरुमा शान्तिपूर्ण देखिए पनि विस्तारै हिंसात्मक बन्दै गयो । हालसम्म ७३ जनाको मृत्यु भइसकेको छ । सरकारी कार्यालयमा आगजनी, भिडन्त, कफ्र्यू र इन्टरनेट बन्दजस्ता गतिविधिले नेपालबारे अन्तर्राष्ट्रिय मिडियामा नकारात्मक छवि बनाएको छ । संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलियालगायत मुलुकहरूले आफ्ना नागरिकलाई यात्रा पुनर्विचार गर्न भनेका छन्, जसको सीधा असर पर्यटक आगमनमा देखिएको छ ।
लुम्बिनी पनि अस्थिरताको चपेटामा

धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण लुम्बिनी पनि अस्थिरताको चपेटामा परेको छ । सामान्यतया असोज–कात्तिकमा हजारौँ विदेशी र आन्तरिक पर्यटक लुम्बिनी पुग्ने गर्छन् । तर यसपटक होटल र गेष्टहाउसहरू सुनसान छन् । २५–३० प्रतिशत विदेशी आगन्तुकले भ्रमण रद्द गरिसकेका छन् । चीन, श्रीलंका, थाइल्याण्डबाट आउने समूहहरू आइसकेका भए पनि छोटो समयमा फर्किएका छन् ।
लुम्बिनी विकास कोषका एक कर्मचारी भन्छन्, “कर्मचारीको तलब धान्न पनि सकस भइरहेको छ । पर्यटक घट्नुले केवल व्यवसाय होइन, देशको छविमा नै असर पारिरहेको छ ।”
नेपाल एशोसिएसन अफ टुर एजेण्ट्स (नाटा) रुपन्देहीका अध्यक्ष चन्द्र थापा भन्छन्, “सिजनको सुरुवातमै यस्तो असर पर्नु दुर्भाग्यपूर्ण हो । पर्यटकहरू नेपाल सुरक्षित हो कि होइन भनेर सोधपुछ गरिरहेका छन् ।” उनी सरकारसँग कर छुट, सहुलियत ऋण र अन्तर्राष्ट्रिय स्तरमा ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउने अभियान सुरु गर्न आग्रह गर्छन् । उनका अनुसार, भैरहवाबाट बुद्ध सर्किट जोड्ने अन्तर्राष्ट्रिय उडान र काठमाण्डौंबाहेक अन्य पर्यटन क्षेत्रलाई समेत प्राथमिकता दिनुपर्ने समय आएको छ ।
सरकारको आश्वासन र व्यवसायीको अपेक्षा
नेपालको पर्यटन क्षेत्र कोभिड महामारीपछि बल्ल तंग्रिन थालेको थियो । सन् २०२४ मा १३ लाखभन्दा बढी पर्यटक आगमन भइसकेको थियो, जुन महामारीअघिको स्तरको नजिक थियो । तर अहिलेको संकटले त्यो उपलब्धिमा ब्रेक लगाएको छ । होटल एशोसिएसन नेपाल (हान) का सिपि श्रेष्ठ भन्छन्, “अहिलेको संकटलाई सम्बोधन नगरे समय लाग्छ । व्यवसायीलाई तत्काल सहुलियत र प्रोत्साहन आवश्यक छ ।”
नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले स्थिरता र सुधारको आश्वासन दिएकी छिन् । सरकारले पर्यटन पुनरोत्थान प्याकेज ल्याउने तयारी गरिरहेको छ । जसमा कर छुट, व्यवसायीलाई सस्तो ऋण, र प्रमुख गन्तव्यको प्रचार–प्रसारजस्ता कार्यक्रम समेटिने छन् । तर विज्ञहरू भन्छन्, “जबसम्म राजनीतिक स्थिरता र सुरक्षाको प्रत्याभूति हुँदैन, प्याकेजको प्रभाव सीमित हुनेछ ।”
नेपालको पर्यटन इतिहास संकट र पुनर्जागरणको मिसिएको कथा हो । २०१५ को भूकम्प, नाकाबन्दी, र कोभिड–१९ जस्ता संकटपछि पनि नेपाल फेरि उठेको थियो । पर्यटन विज्ञहरू भन्छन्, “यदि शान्ति र स्थिरता कायम भयो भने एभरेस्ट, अन्नपूर्ण, लुम्बिनी, चितवन जस्ता गन्तव्य फेरि भरिन सक्छन् ।”
अहिले देखिएको संकट केवल आँकडाको कुरा होइन, यो हजारौँ नेपाली परिवारको आम्दानी, रोजगार, र भविष्यसँग जोडिएको विषय हो । लुम्बिनीका सुनसान सडक, पोखराको थन्किएको प्याराग्लाइडिङ, चितवनको सुनसान सफारी—यी सबै पर्यटनको वर्तमान अवस्था झल्काउने उदाहरण हुन् ।