© २०२३
सुर्खेत, ३१ भदौ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश सभा सचिवालयले जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको खोजी कार्य सुरु गरेका छन् ।
प्रदेश सभा सचिवालयले विज्ञप्ति मार्फत सचिवालयमा आगो लगाउने तथा तोडफोडमा संलग्नहरूको खोजी कार्य सुरु गरेको जनाएको छ । आगो लगाउने कार्यमा संलग्नहरूको खोजीको लागि फोटो तथा भिडियो उपलब्ध गराउन आग्रह गरेको छ ।
यसरी भिडियो उपलब्ध गराउनेको पहिचान गोप्य राखिने सचिवालयले जनाएको छ । त्यसै गरी यही भदौ २३ र २४ मा सुर्खेत जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन सुर्खेत प्रहरीले पनि अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढा थापाले आन्दोलनका नाममा अराजकता फैलाउनेहरूको खोजी कार्य सुरु गरिएको जनाए । उनले निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड, आगजनी र लुटपाट मच्चाउनेहरूलाई कानुनी दायरामा ल्याइने बताए ।
जेन–जीहरूले २३ भदौ देखि थालेको आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गरेर सोही दिन १९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेको सङ्ख्या हालसम्म ७३ जना पुगेको छ ।
त्यसको बदला लिन दोस्रो दिन सडकमा उत्रिएको जेन–जी प्रदर्शनकारीले कर्णालीका महत्त्वपूर्ण सरकारी निकायका दस्ताबेजहरू ध्वस्त बनाएका थिए ।