© २०२३
नेपालगञ्ज, ३१ भदौ ।
‘जेन–जी’ आन्दोलनको आडमा नेपालगञ्जका सरकारी कार्यालयहरूमा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि बाँके प्रहरीले कारबाही थालेको छ । यसै क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटा रहेका छन् । जिल्ला प्रहरीकार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक पातलीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
पाठकमाथि नेपालगञ्ज उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालयलगायतका सरकारी कार्यालय र सवारीसाधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोप छ । डिएसपी पातलीका अनुसार आन्दोलनको आडमा अराजक क्रियाकलापमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइरहेको छ ।
“अहिलेसम्म दुईजना पक्राउ परिसकेका छन्, अरूको पनि पहिचान गरेर पक्राउ गरिनेछ,” उनले भने । आन्दोलनकै आडमा नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सरकारी तथा व्यक्तिगत संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो । प्रहरीले यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन थप अभियान चलाइरहेको जनाएको छ ।