© २०२३
रोल्पा, ३१ भदौ ।
गत भदौ २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनको रोल्पामा खासै प्रभाव देखिएन । आन्दोलनको पहिलो दिन सरकारले आन्दोलनकारीहरू माथि गरेको हत्याको विरुद्ध दोस्रो दिन जिल्ला केही बजार केन्द्रहरूमा युवा तथा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए ।
युवा तथा विद्यार्थीहरूले जिल्ला सदरमुकाम लिवाङ, सुनिलस्मृती गाउँपालिकाको सुलिचौर, रुन्टीगढी गाउँपालिकाको होलेरी, त्रिवेणी गाउँपालिकाको जुगार, गंगादेव गाउँपालिकाको सुख्खा ओडार र थवाङ गाउँपालिकाको थवाङमा विरोध प्रदर्शन गरेका थिए ।
जेनजी आन्दोलनले जिल्लाका दश स्थानीय तह मध्ये रुन्टीगढी गाउँपालिका केही प्रभावित भएको थियो । सो गाउँपालिकाको वडा नंं. ५ का वडाध्यक्ष गोविन्द डाँगीले अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा समेत गरेका थिए । वडाध्यक्ष डागीले सामाजिक सञ्जाल मार्फत राजीनामा दिएको घोषणा गरेका थिए ।
छिमेकी जिल्ला दाङसंग सीमा जोडिएको सो गाउँपालिका दाङमा भएको आन्दोलनबाट प्रभावित भएको बताइन्छ । आन्दोलनपछि अवरुद्ध भएको सेवा आइतवारवाट सुचारु भएको हो । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका कारण सेवा प्रभावित भएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिप्रसाद खड्काले भदौ २७ गते सूचना जारी गर्दै भदौ २९ गते आइतबार देखि सेवा सुचारु भएको जानकारी गराएका थिए । सूचनामा हालको अवस्था क्रमशः सहज र सामान्य हुँदै गएको हुँदा गाउँपालिका अन्तर्गत सबै सरकारी, सामुदायिक तथा संस्थागत नियमहरूबाट दिइने नियमित सेवा आइतबारबाट सुचारु हुने जानकारी गराइएको थियो ।
आन्दोलनको दोस्रो दिन स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको थियो । अवस्था सामान्य हुन थालेपछि स्थानीय प्रशासनले थप २ दिन रोल्पा नगरपालिका वडा नं. १, २ र ४ मा निषेधाज्ञा जारी गरेको थियो ।
हाल जिल्लाको अवस्था पूर्ण रूपमा पहिलेकै अवस्थामा फर्किसकेको छ । आइतबार जिल्ला सदरमुकाम लिवाङमा विभिन्न सामाजिक संगठनहरूले सद्भाव ¥याली निकालेका थिए ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पा, गैर सरकारी संस्था महासङ्घ जिल्ला शाखा रोल्पा, नेपाल वार एशोसियन जिल्ला वार इकाई र सामुदायिक वन उपभोक्ता महासङ्घ रोल्पाले सद्भाव ¥यालीको रूपमा नागरिक प्रदर्शन गरेका थिए । प्रदर्शनमा पत्रकार, गैससकर्मी, नागरिक समाज, उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अप्रत्यासित रूपमा भएको घटनाले ठुलो मात्रामा धन जनको क्षति गरेको बताउँदै त्यसको पुनर्निर्माण लाग्न सबैसँग आग्रह गरिएको थियो । थप हिंसा हुन नदिन सबै पक्ष सचेत रहनुपर्ने उनीहरूको भनाइ थियो ।
अहिले जिल्लामा सरकारी तथा गैर सरकारी कार्यालय, उद्योग धन्दा, व्यापार व्यवसाय, विद्यालय तथा कलेज र यातायातहरू यथावत् रूपमा सञ्चालन भइरहेका छन् ।