© २०२३
नेपालगन्ज, ३१ भदौ ।
बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि चहलपहल देखिएको छैन । दसैँ नजिकिँदै जाँदा भारतमा रोजगारीका लागि गएकाहरू फर्किने र सीमावर्ती बजारमा किनमेल गर्नेहरूको भीड हुने अपेक्षा गरिएको थियो ।
आइतबारदेखि आंशिक रूपमा खुलेको नाका सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । तर आवतजावत गर्ने मानिसहरूको सङ्ख्या न्यून रहेको जमुनाहा नाकामा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक नन्दराम खड्काले जानकारी दिए। उनले भने, “पहिलेजस्तो नाकामा अझै भिडभाड छैन, कतिपयलाई नाका खुलेको थाहा नै नहुन सक्छ ।”
यसअघिका वर्षमा दसैँ आउनु भन्दा एक महिना अघिदेखि नै भारतमा कमाई गर्न गएकाहरू स्वदेश फर्किने गरेका थिए । तर यस पटक भने त्यस्तो चहलपहल नदेखिएको नाकामा खटिएका सुरक्षा निकायका सदस्य र जमुनाहाका स्थानीयहरूले बताएका छन् ।
जमुनाहा नाकास्थित फेन्सी पसल सञ्चालक हरि केसीका अनुसार गत वर्ष यो समयमा बिहानैदेखि भारततर्फबाट फर्किनेहरूको लामो लाइन लाग्ने गर्थ्यो, तर यस पटक त्यस्तो भीड छैन ।
भारतबाट फर्किएका सुर्खेत बराहताल गाउँपालिका–१० का ५२ वर्षीय दलबहादुर रोकाले भने, “नेपालमा जेनजी आन्दोलनबारे फेसबुकबाट थाहा पायौँ । गाउँघरको माया लागेर यसपालि दसैँ मनाउन चाँडै फर्कियौँ ।” उनका अनुसार आफैँसँग भारत गएका साथीहरू भने आन्दोलनले केही परिवर्तन ल्याएपछि मात्र फर्किने भन्ने धारणा राखेका छन् ।
दैलेखको नौमुले गाउँपालिका–७ का ३६ वर्षीय धनबहादुर विकले पनि आफू जेनजी आन्दोलनपछिको देशको अवस्था प्रत्यक्ष महसुस गर्न घर फर्किएको बताए । उनले सो आन्दोलनबारे टिकटकमार्फत थाहा पाएको उल्लेख गर्दै भने, “हामी युवाहरू १२ जनाको समूह एकै पटक फर्कियौँ, तर गाउँका केही बुढापाकाले भने यसपालि दसैँ भारतमै मनाउने निर्णय गरेका छन् ।”
यस्तै, जाजरकोट शिवालय गाउँपालिका–६ का ४८ वर्षीय हर्कबहादुर घर्तीले लगातार दुई वर्ष सम्म वर्ष भारतमै दसैँ मनाए पनि यसपालि भने परिवारसहित घर फर्किएको बताए । उनले भने, “देशमा युवाहरूको आन्दोलन चलेकोले परिवार फर्किन मानेको थिएन, तर यसपालि स्वदेशमै दसैँ मनाउनुपर्छ भनेर फकाएर ल्याएँ ।”
धेरै नेपालीहरू आन्दोलनपछि नेपालको अवस्थाबारे चासो राखेको पनि उनले सुनाए । केही वर्ष पहिले भारत गएकाहरू मात्र नेपाल फर्किरहेको र यसै वर्ष गएकाहरू जेनजी आन्दोलनकै कारण फर्किन नचाहेको बताए ।
जेनजी प्रदर्शनका कारण केही दिन बन्द भएको जमुनाहा सीमा नाका आंशिक रूपमा सञ्चालनमा आएपछि सोमबारदेखि पूर्ण रूपमा खोलिएको दुवै देशका सुरक्षा निकायहरूले जनाएका छन् ।
भारतको रूपैडिहास्थित एसएसबीका निरीक्षक रितुराजले पनि अब नाकामा कुनै समस्या नरहेको जानकारी दिए । उनका अनुसार सुरुमा बिरामी, एम्बुलेन्स तथा आपत्कालीन सेवाका लागि मात्र आवतजावत अनुमति दिइएको भए पनि सोमबारदेखि दुवै देशका नागरिकलाई सहज रूपमा आउजाउ गर्न दिइएको छ ।
यसअघि भारततर्फबाट बिरामी, एम्बुलेन्स वा अन्य आपत्कालीन अवस्थाका नेपाली नागरिक मात्र प्रवेश गर्न पाउँथे । तर नेपाली नागरिकलाई भारत जान दिइए पनि भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो । अहिले भने अवस्था सामान्य भइसकेको र जनजीवन पुरानै लयमा फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
भारतबाट फर्किएका नेपालीहरूले पनि अहिले आवागमन सहज भएको र परिचयपत्र देखाएर सजिलै आवतजावत गर्न पाइने बताए । देशभरि जेनजी प्रदर्शन सुरु भएपछि भारतीय सुरक्षाकर्मीले गत बुधबारदेखि केन्द्रको आदेशमा सीमा नाका बन्द गरेका थिए ।
नेपाली सुरक्षाकर्मीहरूले भारतबाट आउने नेपालीलाई आवागमनमा रोक नलगाए पनि भारतीय नागरिक र सवारीसाधनलाई प्रवेशमा रोक लगाएका थिए । यसबीचमा प्रदर्शनकारीहरूले जमुनाहास्थित प्रहरी चेकपोष्ट र भन्सार यात्रु शाखामा मङ्गलबार दिउँसो आगजनी तथा तोडफोड गरेका थिए ।
त्यसपछि ध्वस्त भएको चेकपोष्ट र भन्सार शाखामा पनि मर्मत, वायरिङ र रंगरोगन गरेर सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ ।