Butwal Today

जेन–जी सहिद स्मृति स्तम्भ निर्माणमा कपिलवस्तुमा विवाद

३१ भाद्र २०८२, मंगलवार
अ+
अ-

समाचार सारांशमा


  • कपिलवस्तुको चन्द्रौटामा जेन–जी सहिद स्मारक बनाउने तयारी भइरहेको छ ।


  • शिवराज नगरपालिकामा जेन–जी आन्दोलनमा सहिद नभएको भन्दै स्मारक बनाउने स्थान र उपयुक्तता माथि प्रश्न उठेको छ ।


  • स्थानीयले स्मारक बनाउने बजेट सहिद परिवारलाई सहयोग गर्न प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।


 

चन्द्रौटा, ३१ भदौ ।

कपिलवस्तुको चन्द्रौटाको मुटुमा अवस्थित रेडियो समानताको अगाडि नयाँ स्मृति स्तम्भ उभ्याइने तयारी भइरहेको छ । शिवराज नगरपालिका वडा नम्बर–५, नगरपालिकाले यसलाई जेन–जी सहिद स्मारकको रूपमा अगाडि सारेको छ ।

तर, यो पहलसँगै चन्द्रौटाको सार्वजनिक जीवनमा बहस र विवादको विषय बनेको छ । स्तम्भ निर्माण गर्ने विषय सार्वजनिक भएपछि स्थानीय आम नागरिकहरूले विरोध जनाएपछि वडा नम्बर ५ कार्यालयले ध्यानाकर्षण गराउने पत्र समेत जारी गरेको छ ।

नगरपालिकाको यो निर्णयप्रति स्थानीय स्तरमा गम्भीर असन्तुष्टि देखिएको छ । विशेषतः करिब २ सय वर्षदेखि स्थापित कर्णेश्वरी मन्दिर र त्यसको सम्मानमा नामकरण भएको कर्णेश्वरी चोकलाई हटाएर नयाँ नाम दिन लागिएको भन्दै स्थानीयहरूले आपत्ति जनाएका छन् ।

उनीहरूको भनाइमा कर्णेश्वरी चोक केवल एउटा स्थानको नाम मात्र होइन, स्थानीय आस्था, इतिहास र सामुदायिक पहिचानसँग गहिरो रूपमा गाँसिएको विषय हो ।

त्यसैले एकलौटी निर्णयमार्फत यसलाई हटाउन खोज्नु अस्वीकार्य रहेको उनीहरूको तर्क छ । वडा लगायत स्थानीयहरूको भनाइ अनुसार बनाउनुमा विरोध होइन, स्थानीयको चाहाना अनुसार ऐतिहासिक स्थलको पहिचान मेट्नु उचित होइन ।

अर्को प्रश्न स्थानीयले उठाएको विषय हो । शिवराज नगरपालिकामै जेन–जी आन्दोलनका क्रममा कोही पनि सहिद नभएको । उनीहरूको भनाइमा स्मारक बनाउनुपर्ने हो भने आन्दोलनमा ज्यान गुमाएका युवाको वास्तविक जन्मथलो वा उपयुक्त स्थान रोजिनुपर्ने पत्र उल्लेख गरिएको छ ।

“स्मारक बनाउने बजेटलाई आन्दोलनका क्रममा सहिद भएका परिवारलाई सहयोग गर्न प्रयोग गर्नुपर्छ । त्यसो भए मात्रै सहिदलाई वास्तविक श्रद्धाञ्जली हुनेछ” वडा कार्यालयले जारी गरेको पत्रमा उल्लेख रहेको वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेको भनाइ छ ।

यस्तै, वडास्तरमा पनि नगरपालिकाले कुनै औपचारिक सल्लाह–समन्वय नगरी निर्णय गरेको भन्दै आलोचना र चर्चाको विषय बनेको छ ।

स्थानीय निकायमा नामकरण वा संरचना निर्माण जस्ता काममा समुदायको चाहना र सहमति अनिवार्य हुने तर प्रक्रिया नै पालना नगरिएको आरोप छ । यसले नगरपालिकाको जनमुखी भनिने उद्देश्यमा प्रश्न उठाएको छ ।

भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाई, नागरिकलाई सेवा सुविधामा सुधार ल्याउनु नै सहिदलाई सच्चा श्रद्धाञ्जली हुने सामाजिक अभियन्ताहरू बताउँछन् ।

के भन्छन्, मेयर थापा
नगर प्रमुख अजय थापाले जेन–जी आन्दोलनमा युवा पुस्ताले देखाएको साहस र बलिदानलाई सम्मान गर्ने लक्ष्यसहित स्तम्भ बनाउन लागिएको बताएका छन् ।

उनका अनुसार “जेन–जी पुस्ताले चाहे परिवर्तन सम्भव छ भन्ने सन्देश दिन यो स्तम्भ बनाइँदै छ ।” स्मारकमा आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूको नाम–ठेगाना अङ्कित गरिनेछ ।

साथै, आन्दोलनका क्रममा भेटिएका जुत्ता र अन्य सामग्रीलाई पनि स्तम्भसँग जोडेर इतिहासलाई भावी पुस्तासम्म पु¥याउने तयारी भएको छ ।