© २०२३
काठमाडौं, ३१ भदौ ।
जेनजी आन्दोलनपछि पार्टी नेतृत्वको औचित्यबारे बहस चलेको अवस्थामा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तत्काल राजीनामा मागेका छन् ।
पार्टीभित्र केही समयदेखि रुपान्तरणको कुरा गर्दै आएका शर्मा जेनजी आन्दोलनपछि वर्तमान नेतृत्वको औचित्य नरहेको निष्कर्षमा पुगेका हुन् । उनी भन्छन्, जेनजी आन्दोलनले सकारात्मक सन्देश दिएकाले पार्टी नेतृत्व परिवर्तन हुनु आवश्यक छ ।
शर्माले यस विषयमा पार्टी पंक्तिमा छलफल समेत सुरु गरेका छन् । छलफलमा सहभागी एक कार्यकर्ताले भने, ‘जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ । नयाँ नेतृत्व खोजिएको छ, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।’
भ्रष्टाचार र सुशासनका मागसहित जेनजी युवाहरूले सामाजिक सञ्जालमार्फत अभियान चलाएर भदौ २३ गते काठमाडौंमा प्रदर्शन गरेका थिए । माइतीघरबाट नयाँबानेश्वरतर्फ गएको जुलुस प्रहरी घेरा तोड्दै संसद् भवन पुगेपछि हिंसात्मक बनेको थियो । त्यसको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।
जेनजी आन्दोलनपछि मंगलबार पहिलोपटक सार्वजनिक भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय अवलोकन गरेका छन् ।
जनार्दनले पार्टी शीर्ष नेताहरूको कार्यशैली, जीवनशैली र नेतृत्वमा प्रश्न उठाउँदै आएको बताएका छन् । उनका अनुसार जेनजी आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पक्ष उजागर गरेको छ, र अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खुलेको छ । यसैले वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनको वातावरण तयार गर्नु आवश्यक रहेको उनको तर्क छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
जनार्दनले पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयनका लागि स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताएका छन् ।
उनी गत साउनमा बसेको केन्द्रीय समिति बैठकमा पनि प्रचण्डमाथि प्रश्न उठाइसकेका छन्, तर बहुमतले अस्वीकृत गरेको थियो ।
प्रचण्डपक्षले भने जनार्दनमाथि पार्टीमा अराजकता मच्चाएको आरोप लगाउँदै आएको छ । जनार्दनले जेनजी आन्दोलनबारे गरेको संश्लेषण र आगामी बाटो यसप्रकार देखाएका छन्: