© २०२३
काठमाडौं, ३१ भदौ ।
असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर फेरि घटेको छ । २० वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार, भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर तल गएको छ ।
भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोजमा घटेर ५.४६३५ प्रतिशतमा झरेको छ । यसरी औसत ब्याजदर ०.११३५ प्रतिशत बिन्दुले घटेको हो ।
असोजमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । तीमध्ये कृषि विकास, एभरेस्ट, नेपाल, एनआईसी एशिया, प्राइम कमर्सियल, कुमारी, सानिमा, नेपाल एसबीआई, एनएमबी र सिटिजन्स बैंक रहेका छन् ।
सात वाणिज्य बैंकले भने ब्याजदर स्थिर राखेका छन् । माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, सिद्धार्थ र हिमालयन–इन्भेस्टमेन्ट मेगा बैंकले भदौमा कायम दरलाई निरन्तरता दिएका छन् । लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सामान्य वृद्धि गरेका छन् ।
छोटो अवधिका मुद्दती निक्षेपमा ब्याजदर तुलनात्मक रूपमा कम रहने र लामो अवधिका लागि बढी हुने परम्परा छ । व्यक्तिगत मुद्दतीमा तोकिएको अधिकतम ब्याजदर पनि लामो अवधिका लागि हुने गर्छ । यसदर घट्दा बचत खाताको ब्याजदर र कर्जाको ब्याजदर पनि क्रमशः घट्ने गर्दछ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदै ब्याजदर तल ल्याउन दबाब दिँदै आएको छ । यसै कारण साउन र भदौमा पनि बैंकहरूले ब्याजदर घटाएका थिए । हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशतमा कायम छ ।
कर्जा प्रवाह सुस्त बनेको कारण पनि वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घटिरहेको छ ।