© २०२३
बुटवल, ३१ भदौ ।
रुपन्देहीमा जारी २३ औं लिस्नु कप २०८२ प्रतियोगितामा अञ्चलपुर युवा क्लब सिद्धार्थनगर फाईनलमा स्थान बनाएको छ । यशोदा फुड्स प्रालिको मुख्य प्रायोजन, तिलोत्तमा नगरपालिकाको सहप्रयोजन तथा लिस्नु युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा गोर्खा ब्याईज बुटवललाई ३–१ गोल अन्तरले पराजित गर्दै अञ्चलपुर उपाधि दाबेदारी पेश गरेको हो ।
तिलोत्तमा नगरपालिका–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदान वर्षाका बिचमा भएको खेलमा अञ्चलपुरको जितमा चन्दन दास नायक रहे । खेलको ५८ औ मिनेटमा अञ्चलपुरका आशिष गुरुङले गोल गर्दै टिमको खाता खोले । खेलको ६५ औ मिनेटमा चन्दन दासले अग्रतालाई दोब्बर गरे । निक्कै प्रतिस्प्रर्धात्मक खेलमा गोर्खा ब्याईजका सन्त बहादुर गुरुङले खेलको ६६ औ मिनेटमा गोल गर्दै अन्तर कम गरे । चन्दन दासले खेलको ७४ औ मिनेटमा विजयी गोल गरे । वर्षाले प्रभावित खेलको अन्तिम मिनेट रोकिन पुग्यो । गोर्खा ब्याईजका डिफेन्डर पूर्ण बहादुर श्रेष्ठसहित अञ्चलपुरका आशिष गुरुङ र जितेश गुरुङले रातो कार्ड पाएपछि केहीबेर खेल अबरुद्ध भयो । खेलाडीहरुले रेफ्रीमाथि हातहाल्ने अवस्था नै सृजना भएको थियो । खेलमा अञ्चलपुरका चन्दन दास म्यान अफ दी म्याचबाट पुरस्कृत भएको प्रचार संयोजक सुमन गुरुङले बताए ।
बुधबार दोस्रो सेमीफाईनल खेल फर्साटिकर युवा क्लब र अभिषेक चर्च रहजरका बिचमा हुने क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए । प्रतियोगिताको विजेता टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ तथा उपविजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक पदमबहादुर थापाले बताए । यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्तालाई १२ हजार ५ सय, राइजिङ खेलाडीलाई १२ हजार ५ सय र प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, अनुशासित टिमलाई आकर्षक ट्रफी प्रदान गरिनेछ ।
भदौ १४ देखी शुरु भएको प्रतियोगितामा आयोजक लिस्नु युवा क्लब तिलोत्तमा, झरना स्पोट्र्स क्लब तिलोत्तमा, फर्साटिकर एफसी, फर्साटिकर, भैरहवा अञ्चलपुर युवा क्लब सिद्धार्थनगर, सम्पूर्ण युवा क्लब तिलोत्तमा–१४, सुपौली, अभिषेक चर्च, रजहर नवलपरासी, गोर्खा ब्याईज बुटवल, देवदह ब्याईज खैरेनी, वालिङ–११ वालिङ नगरपालिका, पाल्पा–११ पाल्पा, नवलपरासी–११ नवलपरासी र कपिलवस्तु–११, कपिलवस्तु गरी १२ वटा टिमको सहभागिता रहेको छ ।