© २०२३
काठमाडौं, ३० भदौ ।
भदौ २३ मा जेन–जी आन्दोलनकारीमाथि भएको सरकारी दमनको प्रतिशोधमा देशभर फैलिएको उग्र प्रदर्शनले राजनीतिक नेतृत्व र संरचना तहसनहस बनाएको छ। प्रदर्शनकारीको आक्रोशको मुख्य निसाना सरकारी भवनहरू मात्र नभई प्रमुख राजनीतिक दलहरूका शीर्ष नेता र पार्टी कार्यालयहरू पनि बने।
भदौ २४ गते राजधानी काठमाडौंसहित देशभर एकैसाथ भएको आगजनी र तोडफोडमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूका घर र पार्टी कार्यालयहरू पूर्णरूपमा ध्वस्त भएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आगजनी हुँदा घर पूर्ण रूपमा नष्ट भएको छ। देउवा र उनकी श्रीमती, निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, दुवै गम्भीर घाइते छन् र हाल उपचाररत छन्।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका काठमाडौं र झापास्थित घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। नेता प्रकाशमान सिंह, रमेश लेखकलगायतका घरमा पनि आगजनी भएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसका ४० भन्दा बढी नेताहरूको घर पूर्ण रूपमा क्षतिग्रस्त छ। पार्टीको केन्द्रीय कार्यालय पनि आगोले खरानी भएको छ। उनले भने, “ऐतिहासिक दस्तावेजहरू सबै जलेर नष्ट भएका छन्, अब अस्थायी कार्यालयमार्फत काम अघि बढाउने तयारी भइरहेको छ।”
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पनि आगजनी हुँदा सबैथोक जलेर नष्ट भएको उपाध्यक्ष गुरु बरालले जानकारी दिए।
महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सचिवहरू गोकर्ण विष्ट, रघुवीर महासेठ, तथा अन्य धेरै नेताका घरमा आक्रमण भएको छ।
बरालका अनुसार च्यासलस्थित पार्टी कार्यालय पूर्ण रूपमा खरानी भएको छ, ऐतिहासिक दस्तावेज जलेर नष्ट भएका छन्। उनले भने, “यो क्षति भूकम्प वा माओवादी युद्धको बेलाको भन्दा पनि भयावह छ।”
माओवादी केन्द्रका अध्यक्ष ८८पुष्पकमल दाहाल ’प्रचण्ड’८८को खुमलटारस्थित घर, चार वटा गाडी सहित, पूर्णरूपमा जलेर नष्ट भएको प्रवक्ता अग्नि सापकोटाले पुष्टि गरे।
२२ जना नेताको घर पूर्णरूपमा ध्वस्त भएको छ भने अधिकांश जिल्ला र प्रदेशमा नेताहरूको निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको छ। कोटेश्वरस्थित पार्टी मुख्यालय पनि पूरै जलेर खण्डहरमा परिणत भएको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवास र वरिष्ठ नेता झलनाथ खनालको डल्लुस्थित घरमा आक्रमण हुँदा घर पूर्णरूपमा ध्वस्त भएको छ। खनालकी श्रीमती गम्भीर घाइते भएकी छन्।
राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीलगायत नेताहरूको घर तथा सवारी साधन पनि क्षतिग्रस्त छन्। पार्टी कार्यालयमा आगो लगाउँदा धेरै महत्त्वपूर्ण दस्तावेज नष्ट भएको नेताहरूले बताएका छन्।
रास्वपा र राप्रपा आक्रमणबाट सुरक्षित
यस भीषण आगजनी र तोडफोडबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा भने हालसम्म सुरक्षित रहेको नेताहरूले बताएका छन्।
विस्तृत क्षति भएपछि कांग्रेस, एमाले, माओवादी र समाजवादी पार्टीका शीर्ष नेताहरू अहिले सेनाको उच्च सुरक्षा घेरामा राखिएका छन्।
राजनीतिक दलहरू आन्तरिक समन्वय गर्दै क्षतिको विवरण संकलनमा जुटेका छन्। सबै पार्टीहरूले संगठन, विचार र सिद्धान्तको बलमा पुनः उठ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।