© २०२३
काठमान्डौ, ३० भदौ ।
नवनियुक्त तीन मन्त्रीहरूले सोमबार राष्ट्रपति कार्यालयको खण्डहर परिसरमा शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।
‘जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि शीतल निवास बस्नै नसकिने अवस्थामा पुगेकाले गत शुक्रबार प्रधानमन्त्री कार्कीको शपथ राष्ट्रपति निवासमै गरिएको थियो । तर, आज भने राष्ट्रपति कार्यालयको जिर्ण भवन बाहिर पाल टाँगेर शपथ ग्रहण समारोहको व्यवस्था मिलाइएको हो ।
शपथ कार्यक्रममा सरकारी निकायका उच्च पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि लगायत विशिष्ट अतिथिहरूको उपस्थिती रहेको थियो ।
आज शपथ ग्रहण गर्ने मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल रहेका छन् । घिसिङलाई तीन मन्त्रालय र अर्याललाई दुई मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको छ ।