नेकपा एमालेका महासचिव शंकर पोखरेलले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनबारे टिप्पणी गर्दै आफ्नो पार्टी युवाहरूको आकांक्षा पूरा गर्ने बाटोमै अघि बढिरहेको बताए ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलको अनुगमनपछि कार्यकर्ता र सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीको विधान महाधिवेशनमार्फत युवाहरूका माग सम्बोधन गर्न विविध छलफल भएको र त्यही अनुसार योजना अघि सारिएको उल्लेख गरे । “युवाहरूले अलिक धैर्य देखाएका भए नेकपा एमाले नै उनीहरूको आकांक्षा पूरा गर्ने पार्टीका रूपमा स्थापित भइसकेको हुन्थ्यो,” पोखरेलले भने ।
उनका अनुसार तत्कालीन अन्तरिम सरकारले शान्ति सुरक्षाको वातावरण कायम गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन जरुरी छ । “सधैं सडकबाट मात्रै जनमत प्राप्त गर्ने हो भने स्थायित्व र विकास सम्भव हुँदैन । संविधानमै आधारित भएर निर्वाचनमार्फत जनताको अभिमत लिन सक्नुपर्छ,” उनले स्पष्ट पारे ।
पोखरेलले युवाको आकांक्षा तत्काल पूरा गर्न नसकेको कमजोरी स्वीकार गर्दै पनि देशभक्ति, सुशासन, विकास र समृद्धिप्रति एमालेको प्रतिबद्धता यथावत् रहेको दोहोर्याए । “हामी फेरि उठ्नेछौं, अझै एकताबद्ध भएर जनताको भावना सम्बोधन गर्नेगरी अघि बढ्नेछौं,” उनले भने ।