© २०२३
बर्दिया, ३० भदौ ।
बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा स्थानीयले संयुक्त रूपमा गस्ती गर्न थालेका छन् ।
मध्यवर्ती क्षेत्रसँग जोडिएको सबै सामुदायिक वनमा स्थानीय चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान, नेपाली सेना, निकुञ्जमा कार्यरत कर्मचारीले संयुक्त रूपमा गस्ती गर्न थालेका छन् ।
बर्खा याम सुरु भएसँगै सामुदायिक वनमा अवैध गतिविधि बढ्न सक्ने भएकोले स्थानीय, युवा, निकुञ्जका कर्मचारी र नेपाली सेनाले संयुक्त रूपमा गस्ती गर्दै आएका छन् । यसरी संयुक्त रूपमा गस्ती गर्दा वन्यजन्तुको संरक्षण र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुगेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानमा सदस्य खुसी राम चौधरीले बताए । उनले भने, ‘ बर्दियामा विशेष गरी पर्यापर्यटनको सम्भावना भएको ठाउँ हो ।
त्यसैले पनि जैविक विविधताको संरक्षण र गैर कानुनी क्रियाकलाप रोक्न यसरी गस्ती गर्दै आएको छौँ ।’ चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका सदस्य किशोर चौधरीले सामुदायिक वनमा २० जना स्थानीय र युवाको समूह बनाएर संयुक्त रूपमा गस्ती गरिएको बताए । उनले भने, ‘ ठाकुरद्वारालाई विश्व माझमा निकुञ्जले चिनाएको छ ।
तर केही गैर कानुनी काम गर्ने व्यक्तिले वनमा अवैध क्रियाकलाप गर्न नपाउन भनेर गस्ती गरिएको हो ।’मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने करिब ३ हजार ५ सय युवा चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानमा जोडिएको छन् ।