© २०२३
सल्यान, ३० भदौ ।
जिल्लावासीको संयमितता र स्थानीय प्रशासन, सुरक्षाकर्मीहरूको सक्रिय भूमिकाका कारण सल्यानमा जेनजी पुस्ताले आह्वान गरेको आन्दोलन र प्रदर्शनको क्रममा कुनै क्षति तथा अप्रिय घटना हुन पाएन ।
भदौं २४ मा जिल्लाको खलंगा, श्रीनगर, बागचौर, कपुरकोट, छत्रेश्वरी लगाएत विभिन्न क्षेत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण लगाएतका माग राख्दै जेनजी पुस्ताका युवाहरू र अन्य नागरिकहरूले समेत ठाउँठाउँमा प्रदर्शन गरेका थिए ।
सो क्रममा सल्यान जिल्लामा सामान्य क्षति बाहेक अन्य कुनै अप्रिय घटना नघटेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले श्रीनगर बजारस्थित केही डिस्प्लेमा सामान्य क्षति बाहेक अन्यत्र कुनै क्षति र अप्रिय घटना नभएको जनाए । उनले भने, “हाल जिल्लाका सबै कार्यालयबाट सेवा सुचारु भइसकेको छ ।
जिल्लाबासीले अरू बेला जस्तै यसपटक पनि संयमित व्यवहार देखाउनुभयो, यो निकै सराहनीय विषय हो ।” उनले आन्दोलनका बेला सुरक्षाको आकलन गर्दै कफ्र्यु तथा निषेधाज्ञा जारी गरिएको बताए ।
विशेष गरेर कारागारको सुरक्षामा बढी ध्यान दिइएको र हाल सशस्त्र प्रहरी तथा नेपाली सेनाको निगरानी अझै कायम रहेको प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाइ छ ।
“शारदा नगरपालिका र कुमाख गाउँपालिकालाई अलि बढी जोखिमपूर्ण क्षेत्रका रूपमा लिएका थियौँ । तर प्रहरी, सशस्त्र र सेनाको गस्तीका कारण त्यहाँ पनि आश्वस्त वातावरण बनाउन सकियो,” उनले भने ।
जिल्लाबासी नागरिकहरूको सजकता, संयमता तथा सुरक्षा निकायको तदारुकताका कारण तोडफोड, आगजनीका घटना नभएको र समग्र जिल्ला शान्त बन्न पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक डाक्टर हेम बहादुर केसीले सल्यानमा कुनै प्रकारको ठूलो क्षति नभएको भन्दै जिल्लावासी र सुरक्षाकर्मी दुवैको तदारुकताले परिस्थिति नियन्त्रणमा रहेको जनाए ।
उनले भने, “प्रदर्शनका क्रममा मानिसहरूलाई अनावश्यक भिडभाड हुन नदिने उपाय अपनाइयो । कफ्र्यु पछि लाग्यो, तर त्यसअघि नै सम्भावित भीडलाई व्यवस्थापन गरेर जोखिम टारियो ।”
उनका अनुसार प्रहरी प्रशासनले आन्दोलनलाई ठूलो जमघट हुन नदिने तथा एक स्थानका मानिसलाई अर्काे ठाउँमा जान नदिने रणनीति बनाएको थियो । मानिसहरू विभिन्न ठाउँबाट भेला भएर ठूलो भिड नबनोस् भनेर एक ठाउँबाट अर्को ठाउँतर्फ जान रोकिएको प्रहरीको भनाइ छ ।
सुरु चरणदेखि नै प्रहरीको सक्रिय व्यवस्थापन मार्फत नियन्त्रण गरिएको थियो । पछि मात्रै औपचारिक रूपमा कफ्र्यु तथा निशेधाज्ञा जारी गरिएको थियो ।
प्रहरी नायव उपरिक्षक केसीले सम्भावित जोखिमलाई विचार गर्दै सुरुवातमा नै जिल्ला कारागारमा ५० जना प्रहरी जनशक्ति परिचालन गरिएको बताए । “प्रत्येक पालिका र नगरपालिकाका गाडीहरू सुरक्षित स्थानमा राख्न लगाइयो भने हरेक स्थानीय तहमा प्रहरी खटाएका थियौँ ।
यसैका कारण सम्भावित जोखिम कम गर्न सकियो । सल्यानबासीको संयमितता त रह्यो नै”, उनले भने । जिल्लाका केही कार्यालयमा भ्रष्टाचार भयो भन्दै तालाबन्दीको कुरा भए तापनि त्यसको पनि समय आउँछ भनेर नागरिकलाई सम्झाइबुझाइ गरिएको उनको भनाइ छ ।