© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा पार्टी संरचनामा पुगेको क्षतिको विवरण सङ्कलन गर्ने भएको छ ।
मङ्गलबारदेखि देशभरका कार्यालय तथा संरचनामा भएको क्षतिको विवरण संकलन सुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालयसमेत जलाइएकाले सोमबारसम्म कार्यालय सञ्चालन गर्न नसकिएको हो । अस्थायी संरचना तयार भएपछि मंगलबारदेखि काम सुरु हुने र सोसँगै क्षति मूल्याङ्कन थालिने उनले बताए ।
जेन–जी आन्दोलनका क्रममा कांग्रेसका अधिकांश प्रदेश र जिल्ला कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । यस्तै, कांग्रेसका सांसद तथा पूर्वमन्त्रीहरूको निजी निवाससमेत आक्रमणमा परेको मुख्यसचिव पौडेलले जानकारी दिए । उनका अनुसार हालसम्म पार्टी संरचनामा भएको क्षतिको पूर्ण विवरण उपलब्ध भइसकेको छैन ।
आन्दोलनकारीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी पार्टी केन्द्रीय सदस्य डा. आरजु राणामाथि समेत बुढानीलकण्ठस्थित निवासमा कुटपिट गरेका थिए । उनीहरूको अहिले उपचार भइरहेको छ। देउवाको निवाससमेत आन्दोलनकारीले जलाएर ध्वस्त पारेका छन् ।