© २०२३
कपिलवस्तु, ३० भदौ ।
जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिमा जिल्लाका सरकारी कार्यालयबाट रोकिएका सेवा पुनः सुचारु भएको छ । जिल्लाका सबै सरकारी कार्यालयले पूर्ववत् रूपमा पूर्ण सेवा सञ्चालन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले सबै सरकारी कार्यालयलाई कार्यालयको सेवा सुचारु गर्न दिएको निर्देशन अनुसार आइतबार देखी नै पूर्ण रूपमा सेवा सुचारु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, इलाका प्रशासन कार्यालयहरूबाट दिइँदै आएको नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र सहितको सम्पूर्ण सेवा सहित जिल्लाका सबै सरकारी कार्यालयहरूले सेवा सञ्चालनमा ल्याएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जानकारी दिए ।
यसअघि भन्सार कार्यालयहरूले भने नियमित सेवा प्रवाह गर्दै आएका थिए । यसै बिच जिल्ला समन्वय समिति कपिलवस्तुको अगुवाईमा जिल्लाका सबै स्थानीय तह र अन्तर्गतका कार्यालयबाट सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयमा पालिका प्रमुखहरू बिच छलफल गरिएको छ ।
छलफलका क्रममा सुरक्षा निकायले शान्ति सुरक्षाको व्यवस्थापन गर्ने र स्थानीय तहले सेवा प्रवाहलाई सुचारु बनाउने विषयमा छलफल भएको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।
छलफलको निष्कर्ष अनुसार जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जिल्लाका सबै स्थानीय तहलाई नियमित सेवा सञ्चालन गर्न पत्राचार गरेका छन् ।
समन्वय समितिबाट गरिएको पत्राचारमा “हालै देशमा उत्पन्न भएको विषम परिस्थितिका कारण त्यहाँबाट प्रवाह भइरहेको नियमित सेवा अवरुद्ध भएकोमा हाल देशको परिस्थिति सामान्य बन्दै गएकाले त्यहाँ पालिका र अन्तर्गतका कार्यालयहरूबाट प्रवाह हुने सेवा नियमित रूपमा सञ्चालन गर्न गराउन अनुरोध छ,” भन्ने ब्यहोरा उल्लेख गरिएको छ ।