© 2026
नवलपरासी, ३० भदौ ।
जेनजी आन्दोलन पश्चात् अवरोध भएको सरकारी सेवाहरू आइतबारदेखि सुचारु राख्न सरकारले गरेको निर्देशन अनुसार जिल्लाका अधिकांश कार्यालयबाट सेवा सुचारु भएको छ ।
सेवाग्राही कम मात्रामा आए पनि कार्यालयमा क्षति नपुगेका कार्यालयहरूले सेवा सुचारु राखेको र क्षति पुगेका कार्यालयहरूले आंशिक सेवा दिन सुचारु गरेका हुन् ।
कार्यालयमा क्षति नपुगेका कार्यालयले बिहानैदेखि सेवा प्रवाहका कार्य थालेका थिए भने, जिल्ला स्थित सरकारी कार्यालयहरूमा भएको क्षति मूल्याङ्कनका लागि शनिबार मात्रै निर्णय गरेको र आइतबारदेखि क्षति मूल्याङ्कन टोली सबै कार्यालयमा पुग्ने, क्षति विवरण तयार गर्ने र स्थलगत मुचुल्का गरे पश्चात् कार्यालयका कर्मचारी सरसफाइमा जुटेका थिए ।
कार्यालयमा धेरै क्षति पुगेको रामग्राम नगरपालिकामा पनि ढिलो गरि क्षति मूल्याङ्कन भए पछि कार्यालयका कर्मचारी सरसफाइमा जुटेको कर्मचारीहरूले बताए ।
नगरपालिकाको लेखा शाखा र योजना शाखाका कागजात धेरैजसो जोगिएको भए पनि नक्सा, पञ्जिका, शिक्षा, स्वास्थ्य, प्रशासन, जिन्सी लगायतका शाखाका धेरै कागजात, फर्निचर, कम्प्युटर जलेका छन् ।
आइतबार बिहानै सरसफाइ गराई कार्य सुचारु गर्नमा कर्मचारी लागेको नगरपालिका पुगेकी नगर उपप्रमुख सम्झना चौधरीले बताइन् ।
सेवाका लागि आउने सेवाग्राहीले अति आवश्यक सेवा जसरी पनि व्यवस्थापन गरेर गर्नुपर्ने, दिन नसक्ने सेवाहरूबारे वास्तविकता कारण सुनाउँदै सम्झाएर सन्तुष्ट बनाई पठाउनुपर्ने गरि कर्मचारीलाई निर्देशन गरिएको उनको भनाइ थियो ।
सेवा सुचारुबारे केही काम वडा कार्यालयबाट पनि अनलाइन गर्न सक्ने हुँदा वडा कार्यालयबाट सुचारु गराउन नगरपालिका पुगेका १५ नं. वडाका वडा अध्यक्ष धनपत यादव र वडा नं. ११ का वडाध्यक्ष धनिराम यादवले पनि कार्यालय प्रमुखसँग जे जति साधन स्रोत छ, कर्मचारी परिचालन गरि सेवाहरू प्रभावकारी बनाउन आग्रह गरेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेले क्षति नपुगेका कार्यालय बाहेक नगरपालिका अन्तर्गतका विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीबाट सेवा प्रवाह हुने र नगर कार्यपालिकाका कार्यालय र वडा नं.१२ का वडामा क्षति पुगेको हुँदा अर्को सूचना प्रकाशित नभएसम्म सेवा बन्द हुने भनी जानकारी गराएका छन् ।
त्यसैगरि सरावल गाउँपालिकाले पनि दिन सक्ने सेवाको जानकारी गराउँदै सूचना जारी गरेको छ । पाल्हीनन्दन गाउँपालिकाले पनि सबै सेवा सुरु गर्न निर्देशन सहितको सूचना जारी गरि सकेको छ ।
सदरमुकाम परासीमा पनि जिल्ला अदालत, मालपोत कार्यालय, नापी कार्यालय, प्रशासन कार्यालयका सबै सेवाहरू सहज ढङ्गले भएको थियो । विगतको तुलनामा कम सेवाग्राही आएको देखिएको थियो । बैङ्क तथा वित्तीय संस्थाहरू पनि भिडभाड बढेको थियो ।
भदौ २४ गते जेनजीको आन्दोलनमा नवलपरासीमा भएका क्षतिहरूमा सरकारी कार्यालयहरू मध्ये जिल्ला समन्वय समिति – समान पुरै बाहिर निकालेर आगो लगाइएको छ, जिल्ला प्रशासन कार्यालय– गेटमा सामान्य क्षति, करदाता सेवा कार्यालय– भित्र पसेर तोडफोड, कागज अस्तव्यस्त अवस्थामा, नवलपरासी जिल्ला अदालत– बाहिर गेटमा र भित्र पनि क्षति, जिल्ला सरकारी वकिलको कार्यालय– समान तोडफोड, आगजनी, जिल्ला कारागार नवलपरासी– समान तोडफोड, आगजनी, कैदी फरार, राष्ट्रिय आवास कम्पनी– आगजनी, उद्योग वाणिज्य सङ्घ बर्दघाट:– आगजनी, रामग्राम नगरपालिका– गाडी पूर्णमा जलाएर नष्ट, भित्र कुर्सी, सोफा कागजातमा एसीमा आगो, सुनवल नगरपालिका– सामान्य क्षति भएको थियो ।
यसै गरी बर्दघाट नगरपालिका– नगरपालिका परिसर भित्र रहेको गाडी समान, भित्र रहेको सोफा, कागजहरू जलेर नष्ट, केही वडा कार्यालयमा समेत आगो, पाल्हिनन्दन गाउँपालिका– एलसीडी, सिसिटिभी र बाहिर आवरणमा तोडफोड, सरावल गाउँपालिका– पालिका भित्रका सोफा,कुर्सी, कागज लगायतमा आगो, सभाहलमा पनि आगो, २ र ७ नम्बर वडा कार्यालयमा आगजनी, प्रतापपुर गाउँपालिका– एउटा गाडी, गेट, भित्रका सोफा आदिमा आगो, अन्य कागजातमा समेत आगो, सुस्ता गाउँपालिका– गाउँपालिकाका गाडी, समान कागजातमा आगो, जलेर नष्ट र महेशपुर बस पार्क– सालिक तोडफोड, सामान्य क्षति थियो ।
यसै गरि नवलपरासीका नेताहरू घरमा क्षतिमा पूर्व मन्त्री हृदेश त्रिपाठीको घर तथा निजको छोराले सञ्चालन गरेको चकलेट उद्योगमा आगजनी, प्रतिनिधि सभा सदस्य सरिता भुसालको घरमा आगो, प्रतिनिधि सभा सदस्य विनोद चौधरीको सचिवालयमा आगजनी, तोडफोड तथा लुटपाट, संविधान सभा सदस्य विक्रम खनालको घरमा आगजनी, लुटपाट, लुम्बिनी प्रदेशका मन्त्री देवकरण कलवारको घरमा लुटपाट र आगजनी, प्रदेश सभा सदस्य बैजनाथ जयसवालको निजी सचिवालयमा आगो, लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकको घरका सामानहरूमा आगजनी, पूर्व लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र अधिकारीको घरका सामानहरू मा आगजनी, प्रतापपुर गाउँपालिकाका अध्यक्षको दुई वटै घरमा र उपाध्यक्षको घरमा आगजनी तोडफोड लुटपाट गरिएको थियो ।
त्यसैगरि सुनवल नगरपालिकाका मेयर उपमेयरको घरमा सामान्य क्षति, बर्दघाट नगरपालिकाका मेयर उपमेयरको घरमा आगजनी, पूर्व मेयर धीरज शर्माको घरमा समेत आगजनी, पाल्हिनन्दन गाउँपालिकाका अध्यक्षको घरमा तोडफोड तथा उपाध्यक्षको घरमा तोडफोड, लुटपाट तथा बहुमूल्य सामानमा आगजनी भएको थियो भन्ने राजनीतिक दलका कार्यालयहरूमा क्षति,परासीमा रहेको नेपाली काँग्रेसका दुई वटा कार्यालयमा आगजनी, परासीमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी, परासीमा नेकपा माओवादीको पार्टी कार्यालयमा आगजनी, तोडफोड, सुनवलमा रहेको नेपाली काँग्रेस पार्टी कार्यालयमा तोडफोड तथा आगजनी, सुनवलमा रहेको नेकपा एमालेको पार्टी कार्यालय तोडफोड तथा आगजनी, बर्दघाटमा रहेको एमाले र नेपाली काँग्रेस पार्टी कार्यालयमा आगजनी, देवेन्द्र राज कँडेल र बैजनाथ जयसवालको निजी सचिवालयमा तोडफोड र आगजनी भएका थिए ।