© २०२३
काठमान्डौ, ३० भदौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गतेको आन्दोलनका क्रममा आफ्ना कार्यालयहरूबाट चोरी भएका सामग्री फिर्ता गर्न एक सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।
सो अवसरमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूमार्फत विभिन्न जिन्सी सामग्रीहरू हराएको आयोगले जनाएको छ । हराएका सामग्रीमा सवारी साधन, टेलिभिजन, कम्प्युटर, हार्ड डिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटरलगायत महत्वपूर्ण उपकरणहरू रहेका छन् ।
आयोगका अनुसार घटनास्थल वरपरको सिसिटिभी फुटेजको विश्लेषणका आधारमा दोषीहरूको पहिचान गर्ने प्रक्रिया जारी छ । आयोगले ती सामग्री कसैको कब्जामा परेमा स्वेच्छाले फिर्ता गर्न आग्रह गर्दै काठमाडौं उपत्यकाका हकमा प्रहरी वृत्त मालीगाउँ वा आयोगको टङ्गालस्थित कार्यालयमा बुझाउन अनुरोध गरेको छ ।
अन्य स्थानका कार्यालयहरूबाट हराएका सामग्रीहरू भने नजिकको प्रहरी कार्यालय वा सम्बन्धित आयोग कार्यालयमा बुझाउन सकिनेछ ।
साथै, आयोगले समयमै सामग्री फिर्ता नगरे कानुनी कारबाहीको भागीदार बन्नुपर्ने चेतावनीसमेत दिएको छ ।
