Butwal Today

त्रिवि शिक्षण अस्पतालमा २४ शवको पोस्टमार्टम सकियो, ७ शव जलेर नचिनिने अवस्थामा

२९ भाद्र २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २९ भदौ ।
जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ जनाको शवको पोस्टमार्टम सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा अहिलेसम्म ४६ वटा शव पुगेका छन् । तीमध्ये १९ वटा शव आफन्तले बुझिसकेको विभागले जनाएको छ ।

फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार ७ वटा शव पूर्ण रूपमा जलेको अवस्थामा छन् । “चुच्चेपाटीको भाटभटेनीबाट आएका ती सात शव कंकालको अवस्थामा छन्, जसको पोस्टमार्टम गर्न लामो समय लाग्छ,” उनले बताए ।

उनका अनुसार सामान्य अवस्थामा रहेका शवहरूको पोस्टमार्टम सकाएपछि मात्र जलेका शवहरूको परीक्षण सुरु गरिनेछ । डा. चौधरीले यस्तो विपद्मा पोस्टमार्टमको उद्देश्य मृत्युको कारण पत्ता लगाउने मात्र नभई शवको पहिचान गर्नसमेत हुने बताए । “हामीलाई मृत्युको कारण स्पष्ट छ । तर कुन शव कसको हो भनेर निश्चित गर्न पोस्टमार्टम अनिवार्य हुन्छ,” उनले भने ।

शव पहिचानका लागि पहिलो चरणमा मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटु जस्ता विवरण मिलाइन्छ । यी पर्याप्त नभएमा फिंगरप्रिन्ट, दन्त परीक्षण र डीएनए परीक्षणमार्फत शव पहिचान गरिने उनले जानकारी दिए ।

“सात शव यति धेरै जलेका छन् कि डीएनए परीक्षण गर्नुपर्ने अवस्था आउन सक्छ,” डा. चौधरीले भने, “त्यस्ता शव दाँतको बनावट, शरीरभित्र राखिएको स्टिल वा फिंगरप्रिन्ट मिलाएर मात्र हस्तान्तरण गर्न सकिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?