© 2026
काठमाडौँ ।
सरकारले वर्तमान परिस्थिति र चाडपर्वको समयमा यात्रुको सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ समितिले यात्रुको गुनासोको तत्काल समाधान र यातायात व्यवस्थापनमा सहजीकरण गर्ने काम गर्नेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए अनुसार, समिति यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठन गरिएको छ ।
समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्षलगायत सरोकारवाला सहभागी हुनेछन् ।
बैठकले चाडपर्वको समयमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच गर्नुका साथै आवश्यकताअनुसार यात्रु सहायता कक्ष निर्माण गर्ने निर्णय गरेको छ । यसका साथै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र अन्य सरोकारवाला संस्थालाई यात्रुलाई सहज गन्तव्यमा पुर्याउने व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय पनि भएको छ ।
अवरोधका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयहरूको उचित क्षतिपूर्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने र ट्राफिक प्रहरीका लागि अत्यावश्यक सामग्री उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी, आन्दोलनका क्रममा लुटपाट भएका हतियार तथा अन्य सामग्री सवारीसाधनमार्फत ओसारपसार हुन नदिने गरी तत्काल सूचना जारी गर्ने निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।
उनले बताए अनुसार, दशैँको समय भएकाले पहिला काठमाडौंमा अड्किएका यात्रुहरूलाई गन्तव्यमा पुर्याएपछि मात्र अग्रिम टिकट बुकिङ खोलिने छ ।