Butwal Today

जेन–जी आन्दोलन: कारबाहीमा पर्लान् त तोडफोड र चोरीमा संलग्न ?

२९ भाद्र २०८२, आइतबार
अ+
अ-

 बुटवल, २९ भदौ ।

जेन–जी आन्दोलनपछि जनजीवन सामान्य बन्दै गएपछि तोडफोड, आगजनी र चोरीमा संलग्न व्यक्तिहरूको फोटो र भिडियोहरू सार्वजनिक भइरहेका छन् । कतिपय व्यक्तिको नाम नै किटान गरिएका छन् ।

यसले आन्दोलनको नाममा फाइदा उठाउन हिँडेका व्यक्तिहरू नैतिक र कानुनी रूपमा निकै अप्ठ्यारोमा परेका छन् ।
जेन–जीहरूबाट आफूहरू त्यस्ता गतिविधि गर्ने उद्देश्य नरहेको र नगरिएको अभिव्यक्ति आएपछि स्थानीय समुदाय त्यस्ता व्यक्ति पहिचानमा सहयोग गर्न थालेका हुन् ।

जेन–जी आन्दोलन जसरी डिजिटल प्लेट फर्मले सफल बनायो त्यसै गरी अहिलेको डिजिटल प्रविधिले अब फेरि हुने त्यस्ता आन्दोलनमा घुसपैठ गर्नेहरूमा कमी आउने अपेक्षा गर्न सकिन्छ ।

यसै सन्दर्भमा बुटवल टुडेले लुम्बिनीका केही जिल्लाका सरकारी र निजी सम्पत्तिको क्षतिको विवरण सङ्कलन गर्ने प्रयास गरेको छ ।

रुपन्देहीमा क्षतिको विवरण आइतबार मात्रै

जेनजी आन्दोलनपछि अहिले रुपन्देहीको जनजीवन सामान्य बनेको छ । शनिवार बिहानै देखि जिल्लाको कर्फ्यु र निषेधाज्ञा हटेको कारण बजारमा चहल पहल बढ्दै गएको छ ।

सार्वजनिक यातायातका साधन चल्न थालेका छन् भने आइतबारदेखि विद्यालयहरूले पनि विद्यालय खोल्ने निर्णय गरेका छन् ।
रुपन्देही जिल्ला जेनजी आन्दोलनको त्रासदीबाट बाहिर आउँदा क्षति भएको ५ दिनमा पनि जिल्लाको क्षतिको प्रारम्भिक विवरण समेत आउन सकेको छैन ।

जिल्लामा के कस्ता कार्यालयमा क्षति भए, जनप्रतिनिधि, व्यापारिक प्रतिष्ठानमा लुटपाट एवं आगजनी भयो भन्ने बारे क्षतिको प्राथमिक जानकारी समेत सङ्कलन सुरु गरिएको छैन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई समेत जिल्लामा कुन कुन सरकारी कार्यालयमा आगजनी भयो, के कति क्षति भयो भन्ने बारे जानकारी छैन ।

आन्दोलनको क्रममा जिल्लामा सरकारी कार्यालय, जनप्रतिनिधिका घर, व्यापारिक प्रतिष्ठा, बैङ्क तथा वित्तीय संस्थामा क्षतिको साथै लुटपाट समेत भए पनि अहिले सम्म क्षति सङ्कलनको कार्य नै सुरु गर्न सकिएको छैन ।

आन्दोलनमा बुटवल उपमहानगरपालिकाको भवन पूर्ण रूपमा नष्ट भएको छ । त्यहाँबाट कहिले र कहिरी सेवा प्रवाह हुन्छ भन्ने अनुमान लगाउन सक्ने अवस्था छैन ।

यसै गरी सरकारी वकिलको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, नेकपा एमालेको पार्टी कार्यालय, नेकपा माओवादीको पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरेका छन् ।

त्यसै गरी नेकपा एमालेका नेता लीला गिरी बासुदेवदेव घिमिरेका घर तथा होटलमा आगजनी तथा तोडफोड गरिएको छ । त्यसै गरी काँग्रेस नेता बालकृष्ण खाडको घरमा समेत आगजनी भएको छ ।

सैनामैना,देवदह लगायतका स्थानमा पनि धेरै नेता तथा सरकारी कार्यालयहरूमा तोडफोड गरिएको छ । आन्दोलनको क्रममा भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,रुपन्देही जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, सिद्धार्थ नगर नगरपालिकाको कार्यालय, जिल्ला ट्राफिक कार्यालय, भैरहवा भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल विद्युत् प्राधिकरण, नेपाली काँग्रेसका पार्टी कार्यालय, सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, उप प्रमुख उमा अधिकारी, प्रदेशका खेलकुद मन्त्री सन्तोष पाण्डे, सांसद सर्वेन्द्रनाथ शुक्ल, स्वर्गीय दिपक बोहराको गाडी, राप्रपा जिल्ला अध्यक्ष सागर प्रताप राणा लगायतको घरमा आगजनी गरि ध्वस्त बनाई दिएका छन् ।

यसै गरी भाटभटेनीको भैरहवा शाखा, होटल मौर्या, रेडसन होटल लगायतमा ढुङ्गा मुढा गरि लुटपाट गरिएको थियो । भैरहवामै रहेको मालपोत कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको कार्यालय, बहुउद्देश्यीय कृषि भवन लगायतमा ढुङ्गा प्रहार गरि क्षति पु¥याईएको छ ।

भैरहवा मात्र हैन रुपन्देही जिल्लाकै बुटवलमा रहेका सरकारी कार्यालय र व्यपारीक प्रतिष्ठानहरू आगजनीको साथै लुटपाट गरिएको छ । तर आन्दोलनको क्रममा जिल्लाभरि लुटपाट, आगजनी, तोडफोड भएको कार्यालय एवम् अन्य भौतिक संरचनाहरूको न विवरण सङ्कलन गरिएको छ न त उनीहरूको के कति रकम बराबरको क्षति भयो भन्ने अनुमान नै लगाउन सकिएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले हाल तत्काल विवरण सङ्कलन गर्ने वातावरण नभएको बताए । उनले बल्ल जिल्लामा स्थिर भएको हुदा अब यो कार्यमा जुट्ने जानकारी दिए ।

बुटवल टुडेसंगको कुरामानीमा प्रजिअ पाण्डेले भने “ आइतबार नै सबै सरकारी कार्यालयका प्रमुखहरूको बैठक बोलाएको छु । भोली बेलुका सम्म जिल्लामा भएको क्षतिबारे प्रारम्भिक जानकारी आउने सम्भावना छ ।”

उनले जिल्लामा पूर्ण रूपमा क्षति भएको, आंशिक क्षति र सामान्य क्षति गरि तीन श्रेणीमा विभाजन गरि क्षतिको विवरण सङ्कलन गरिने जानकारी दिए । जिल्ला भरिको सम्पूर्ण क्षतिको जानकारी आउन अझै केही दिन लाग्न सक्ने पाण्डेको भनाई छ ।

आगजनीबाट सरकारी कार्यालयका फर्निचर, विद्युतीय उपकरण मात्र नभई महत्त्वपूर्ण तथ्याङ्कहरू पनि पूर्ण रूपमा जलेर नष्ट भएका छन् । भौतिक संरचनामा दीर्घकालीन असर पर्ने गरि क्षति भएको छ ।

आन्दोलनको क्रममा रुपन्देही जिल्लामा कुनै पनि मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

 

कपिलवस्तुमा १८ बढी स्थानमा तोडफोड र आगजनी

खग प्रसाद चापागाई__कपिलवस्तु, २९ भदौ ।

जेएनजी आन्दोलनका क्रममा कपिलवस्तु जिल्लामा १८ बढी स्थानमा तोडफोड तथा आगजनीको घटना भएको भेटिएको छ । भदौ २४ गते भएको आन्दोलनका क्रममा एक दर्जन नेता जनप्रतिनिधि तथा आधा दर्जन सार्वजनिक निकायमा तोडफोड र आगजनी भएको प्रहरीको तथ्याङ्क छ ।

आन्दोलनका क्रममा तौलिहवामा नेकपा एकीकृत समाजवादीको कार्यालय रहेको भवनमा पार्टीको बोर्ड भएकाले ढुङ्गा मुढा भएको थियो ।

सो पश्चात् जिल्ला अदालतको न्यायाधीशको निवासमा ढुङ्गा मुढा गरि झ्यालको सिसा फुटाउने क्रमसँगै नेपाली काँग्रेसको पार्टी कार्यालय तौलिहवातर्फ अगाडी बढेका आन्दोलनकारीले नापी कार्यालयमा ढुङ्गा मुढा गरी झ्याल, एसी र कार्यालय सामाग्रीमा क्षति पु¥याएका थिए ।

आन्दोलनका नाममा नेपाली काँग्रेसको पार्टी कार्यालयमा कुर्सी, एसी, कम्प्युटर, प्रिन्टर, झ्याल, सिसाका ढोका लगायतका सामाग्री तोडफोड गरि क्षति पुर्‍याएका थिए ।

उता बाणगंगा नगरपालिका वडा नम्बर ४ गजेहडा स्थित नगर प्रमुख चक्रपाणि अर्यालको घरमा ढुङ्गा मुढा तथा आगजनी, बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाँउ स्थित माओवादी केन्द्रका सचिव चक्रपाणि अर्याल (बलदेव) को घरमा तोडफोड तथा ग्यास सिलिन्डरमा आगजनी गर्दा घर र सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

सोही दिन सोही वडाको चप्परगाँउ स्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको घरमा तोडफोड तथा आगजनी, सोही वडाको ढोडेकोल स्थित राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेको घरमा तोडफोड, वडा नम्बर ११ भडसडवा स्थित पूर्व मन्त्री तथा पूर्व राजदुत दिप कुमार उपाध्यायको घरमा तोडफोड तथा आगजनी, सोही वडाको भड्डीहवा स्थित ऐमाले कपिलवस्तुका पूर्व अध्यक्ष डम्मर शर्माको घरमा तोडफोड तथा आगजनी, बाणगंगा ६ मनोहरापुर स्थित बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता थारुको घरमा तोडफोड, सोही वडाको मधौली स्थित भूमि आयोग कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेलको घरमा तोडफोड तथा आगजनी गरेका थिए ।

सोही त्यसै गरि आन्दोलनकारीले बुद्धभुमी नगरपालिका वडा नम्बर १ टिक्कर स्थित नगरप्रमुख केशव कुमार श्रेष्ठको घरमा ढुङ्गा मुढा तथा तोडफोड र बुद्धभुमी नगरपालिका वडा नम्बर ३ रनगाई स्थित पूर्व मन्त्री तथा साँसद सुरेन्द्रराज आचार्यको घरमा तोडफोड तथा लुटपाट गरेका थिए ।

बाणगंगा नगरपालिका वडा नम्बर ४ जितपुर स्थित बाणगंगा नगरपालिकाको कार्यालयमा ढुङ्गा मुढा, तौलिहवा स्थित करदाता सेवा कार्यालयमा तोडफोड र यशोधरा गाउँपालिका वडा नम्बर २ को कार्यालय भडेहरमा आन्दोलनको नाममा तोडफोडको घटना भएको छ ।

त्यसै गरि आन्दोलन मौका छोपी भदौ २५ गते बिहान कपिलवस्तु कारागारका ४ सय ३० जना कैदी बन्दी कारागारबाट फरार भई कपिलवस्तु अदालतमा पुगेर आगजनीको घटना घटाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

 

दाङमा २० वटा सरकारी कार्यालय, एक दर्जन निजी घरमा आगजनी
चुमा आचार्य__लमही, २९ भदौ ।

भ्रष्टाचार निवारण र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने मागसहित जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा दाङ पनि अशान्त बनायो ।

एकै दिन यहाँका अधिकांश सरकारी कार्यालय र निजी भवन तथा पार्टी कार्यालय आगजनी, तोडफोड र लुटपाटको सिकार बने । प्रारम्भिक विवरणअनुसार २० भन्दा बढी कार्यालय र एक दर्जन निजी भवन जलेका छन् ।

त्यसैगरी  दुईवटामा आंशिक क्षति भयो भने एक सयभन्दा बढी सवारी साधन खरानी बने । आठ कार्यालयका सबै कागजात जलेर नष्ट भए भने तीन कार्यालयका कागजातमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विजय गौतमका अनुसार प्रहरी मुचुल्का र कार्यालय प्रमुखहरूको प्रतिवेदनका आधारमा विवरण सङ्कलन भइरहेको छ ।

अझै क्षतिको तथ्याङ्क आउन बाँकी रहेको उनले बताए । उनीहरूले तुलसीपुर उपमहानगरपालिकाको भवन, घोराही उपमहानगरको कार्यालय परिषद् वडा कार्यालयहरू आगजनी गरेका छन् ।

त्यसैसरि तुल्शिपुर, घोराही, लमहीमा रहेका एमाले पार्टी कार्यालय, काँग्रेस पार्टी कार्यालय, माओवादी पार्टी कार्यालय लगायतमा आगजनी गरेका हुन् ।

जेनजीका प्रदर्शनकारीहरूले नतहरूका निजी भवन समेत तोडफोड , आगजनी गरेका छन् तुलसीपुरका विभिन्न नेताहरूका घरमा पनि तोडफोड गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डिल्ली चौधरी, सभासद् राजु खनाल लगायतका नेताहरूको घरमा साथै, प्रतिनिधिसभा सदस्य दीपक गिरी, प्रदेशसभा सदस्य कोमल ओली र हिराचन्द्र केसी लगायतका नेताहरूका घरमा आक्रमण प्रयास गरेको बताइएको छ ।

घोराहीमा आन्दोलनकारीले उपमहानगर सहित वडा कार्यालय, जिल्ला ट्राफिक कार्यालयको बिट र विभिन्न चोक तथा मलपोत, नापी शाखा, जिल्ला अदालत, जिल्ला समन्वय समिति, प्रदेश निर्वाचन कार्यालय, सडक डिभिजन कार्यालय, पार्टी कार्यालय हुलाक लगायत सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।

निजी आवास घोराही उपमहानगरका मेयर नरुलाल चौधरीको घर, होटल मालायनमा क्षति पु¥याएका छन् । घटनामा अहिलेसम्म मानवीय क्षति भएको वा नभएको बारे प्रष्ट विवरण आएको छैन ।

तर आगजनीका कारण सम्पत्तिमा ठुलो क्षति पुगेको अनुमान गरिएको छ । तुल्सिपुर र घोराही भन्दा प्रदेश राजधानी देउखुरी आन्दोलनकारीले कम क्षति गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

लमही नगरपालिका लमहीमा रहेका प्रदेश सरकारका मन्त्री क्वाटर दाङमा रहेका प्रतिष्ठान हरू नेत्रलाल, बिपी र कृष्नसेन इच्छुकको भवनमा समेत क्षति गरेका छन् । भने लुम्बिनी प्रदेश राजधानी गेटमा सामान्य क्षति बाहेक संरचना सुरक्षित रहेको जनाइएको छ ।

जिल्ला समन्वय समिति दाङकै १८ वटा मोटरसाइकल र तीन वटा चार पाङ्ग्रे गाडी जले, दुई भवनमा आगजनी हुँदा सबै कागजात खरानी भए । भूमि सुधार तथा मालपोत कार्यालयमा दुई भवनसहित सम्पूर्ण कागजात, बैङ्क काउन्टर र चार सवारी साधन जलेर नष्ट भएका छन् ।

सडक डिभिजन कार्यालय र सटेको यान्त्रिक कार्यालयमा टिप्पर, पानी ट्याङ्कर, मोटरसाइकल, एक्स्काभेटर, टेलर, लोडर र टाटा पिकअपसम्म जलाइए वा तोडफोड गरिएको जनाइएको छ ।

घोराही उपमहानगरपालिकाका नौ वटा सवारी साधन जले जसमा नगर प्रहरीको भ्यानसमेत रहेको मेयर नरुलाल चौधरी बताउँछन् । नापी कार्यालयमा दुई गाडी र सम्पूर्ण कागजात खरानी भए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयमा मात्र २८ सवारी साधन जले जसमा दुई चार पाङ्ग्रे र निजी मोटरसाइकल पनि थिए । घरेलु तथा साना उद्योग कार्यालयमा नौ वटा गाडीमा आगजनी भयो भने प्रदेश निर्वाचन कार्यालयको एउटा गाडी तोडफोड गरियो ।

जिल्ला सरकारी वकिल कार्यालयमा दुई सवारी साधन जले, अदालतमा चार वटा गाडी तोडफोड भए, एउटा मोटरसाइकल जले र मुद्दामा ल्याइएका सवारी साधनसमेत गुडाएर लैजाने घटना भयो ।

उता तुलसीपुर उपमहानगरपालिकामा दमकलसहित पाँच सवारी साधन जलाइए मेयर टिकाराम खड्काले बताए । तुल्सिपुरमै रहेको आन्तरिक राजश्व कार्यालयका दुई वटा चार पाङ्ग्रे, तीन मोटरसाइकल र कर्मचारीका निजी मोटरसाइकल समेत खरानी भए भने उच्च अदालत, लोक सेवा आयोग, भू–तथा जलाधार र सरकारी वकिल कार्यालयमा पनि गाडीमा क्षति पुगेको विवरण प्राप्त भएको छ ।

यस आन्दोलनले सरकारी संरचना मात्र होइन, सेवा प्रवाहमा पनि ठुलो सङ्कट खडा गरेको छ । कागजात जलेर नष्ट भएकाले सेवाग्राहीलाई प्रमाण जुटाउन मुस्किल हुनेछ, सरकारी गाडी खरानी भएकाले गाउँघरमा पुग्ने सेवामा महिनौँ अवरोध हुनेछ ।

अदालत र सरकारी वकिल कार्यालयमाथिको आक्रमणले न्यायिक संरचना नै असुरक्षित देखिएको छ । सुरक्षाकर्मीको उपस्थितिमा यति ठुलो क्षति हुनु राज्य संयन्त्रको कमजोरीको सङ्केत हो ।

दाङमा एकै दिन देखिएको यो विनाशले सरकारी संरचना असुरक्षित भएको मात्र होइन, आन्दोलन व्यवस्थापनमा राज्य असफल भएको स्पष्ट बनाएको छ । अब चुनौती भनेको केवल जलेका भवन र खरानी भएका गाडी पुनर्निर्माण गर्नु होइन, सेवाग्राहीले विश्वास गर्न सक्ने शासन प्रणाली पुनः स्थापना गर्नु हो ।

 

बाँकेका यस्तो छ आगजनी र तोडफोड
 विमला चौधरी__नेपालगन्ज, २८ भदौ ।

बाँकेमा जेन–जी पुस्ताको आन्दोलन र प्रदर्शनले हिंसात्मक रूप लिँदै दर्जनभन्दा बढी सरकारी कार्यालय, विभिन्न दलका पार्टी कार्यालय र नेताका निजी घरसम्ममा तोडफोड तथा आगजनी भयो ।

आन्दोलनकारी युवाहरूले छानी छानी सरकारी कार्यालय र पार्टी कार्यालयहरू लक्षित गर्दै आक्रमण गर्दा नेपालगन्ज र कोहलपुर क्षेत्र पूर्ण रूपमा अशान्त बनेको बनेको थियो ।

प्रदर्शनका क्रममा नेपाली काँग्रेस पार्टी कार्यालय, एमाले पार्टी कार्यालय, माओवादी पार्टी कार्यालय कोहलपुर, नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, कोहलपुर नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, आन्तरिक राजस्व कार्यालय कोहलपुर, जिल्ला अदालत बाँके, उच्च अदालत नेपालगन्ज तुलसीपुर ईजालस, उच्च सरकारी वकिल कार्यालय नेपालगन्ज, मालपोत कार्यालय कार्यालय नेपालगन्ज, नापी कार्यालय नेपालगन्ज, जिल्ला हुलाक कार्यालय बाँक, भन्सार कार्यालय नेपालगन्ज र कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यको घरमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

यस्तै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगन्जमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले नेपालगन्जका विभिन्न चोकमा रहेका ऐतिहासिक र राजनीतिक नेताका सालिकसमेत भत्काएका छन् ।

बिपी चोकमा रहेको बिपी कोइरालाको सालिक, गणेशमान चोकमा रहेको गणेशमान सिंहको सालिक, पुष्पलाल चोकमा रहेको पुष्पलाल श्रेष्ठको सालिक र सेतु विकको सालिक भत्काएर केहीमा आगजनी समेत गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।