© २०२३
काठमान्डौ, २९ भदौ ।
दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट वितरण सुरु गरेको छ । असोज १० गतेसम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट नोट सटही गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यसअघि राजनीतिक अस्थिरताका कारण वितरणमा अन्योल भए पनि राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितका अनुसार तोकिएको मितिमै सहज रूपमा नोट उपलब्ध हुने अवस्था बनेको छ ।
साना दरका नोटहरू बैङ्क तथा वित्तीय संस्थाका शाखाबाट पनि सटही गर्न सकिने छ । पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ ।
राष्ट्र बैंकले अघिल्लो वर्षदेखि नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्दै आएको छ । यसले वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ खर्च बचत हुने अनुमान गरिएको छ ।