Butwal Today

माओवादीले भन्यो- आगजनीमा हाम्रो पार्टीका कसैको संलग्नता देखिए सरकारले सख्त कारबाही गरोस्

२९ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)ले जेनजी आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडमा आफ्नो पार्टीसँग सम्बन्धित कसैको संलग्ता देखिए सख्त कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

आइतबार माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै त्यस्ता मानिसलाई आफूहरुले पनि कडा कारबाही गर्ने उल्लेख गरेका छन्।

‘हाम्रो पार्टीको कार्यालयहरू, अध्यक्ष क. प्रचण्ड लगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आग्नजनी तोडफोड गर्ने कार्य भएका छन्, त्यो तथ्य जनतासामु प्रष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौं। तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं।’

कतिपय व्यक्ति र समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भएको भनेर प्रचार गरेको भन्दै माओवादीले आपत्ति समेत जनाएको छ।

‘यो तथ्य जनतासामु प्रष्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ माओवादीले भनेको छ, ‘यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?