© २०२३
काठमाडौं, २९ भदौ ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते देशभरका विभिन्न कारागारबाट भागेका कैदीमध्ये तीन हजार ७२३ जनालाई प्रहरीले पक्राउ गरी कारागारमा फर्काएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार अझै १० हजार ३२० जना कैदी फरार छन् । उनले सर्वसाधारणलाई सतर्क रहन र फरार कैदीबन्दी देखिए वा जानकारी भएमा नजिकैको प्रहरी वा सुरक्षानिकायलाई खबर गर्न आग्रह गरेका छन् ।
उनका अनुसार केही कैदीहरू भारत भाग्न खोज्दा भारतीय प्रहरीले समातेका छन् भने केही सेना, प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् । केही कैदी आफैं कारागारमा फर्किएका पनि छन् ।
त्यस्तै, आन्दोलनका कारण प्रहरी हिरासतबाट भागेकामध्ये हालसम्म १३९ थुनुवा पक्राउ परेका छन् भने अझै करिब २१०० जना फरार रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले कैदी तथा थुनुवा दुवैको खोजी अभियान जारी रहेको र तोडफोड, आगजनीलगायतका घटनाका कारण उनीहरू भाग्न सफल भएको जनाएको छ ।