© २०२३
काठमाडौँ, २९ भदौ ।
सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको छ । आइतबार पदभार ग्रहण गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले यो निर्णयको जानकारी दिइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “अहिले मृतकका परिवारहरू काठमाडौंमा बसिरहेका छन् । उनीहरूको बसाइ, खानपानको खर्च सरकारले हेर्नेछ । मृतकको शव आफ्नो स्थानीय क्षेत्रमा पुर्याउन चाहने परिवारलाई सवारीको व्यवस्था पनि गरिनेछ ।”
त्यसैगरी प्रदर्शनमा घाइते भएका व्यक्तिहरू अपांगको परिभाषाभित्र परेमा दीर्घकालीन उपचारको सुविधा पनि उपलब्ध गराउने निर्णय भएको उनले बताइन् ।
उनले निजी क्षेत्रसँग समन्वय गरेर थप सहयोग जुटाउने प्रयास भइरहेको जानकारी दिँदै भनिन्, “प्राइभेट सेक्टरले पनि सहयोग गर्न सक्छ कि भनेर प्रयास जारी छ ।”