© २०२३
बर्दिया, २९ भदौ ।
वडा कार्यालय तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा बार बर्दिया नगरपालिका वडा नम्बर २ को वडा कार्यालय तोडफोड गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार राति वडा कार्यालय तोडफोड गरेका ६ जनामध्ये ३ जना पक्राउ परे भने अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक सरोज पौडेलले पक्राउ पर्नेमा सोही ठाउँका टोपबहादुर सिजाली, शङ्कर थारु र सञ्जीव चौधरी रहेको बताए ।
उनीहरू कुनै पार्टीसँग संलग्न नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । पक्राउ परेकाहरू विरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ । पक्राउ परेकाले अन्यत्र तोडफोड भएकोले बर्दियामा उपस्थिति देखाउन उक्त कार्य गरेको प्रहरीमा बयान दिएका छन् ।
यसैबिच गुलरियास्थित गुलरिया नगरपालिका, सांसद सञ्जय गौतमको घर, नेपाली काँग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेकाको खोजी कार्य भइरहेको प्रहरी प्रशासनले जनाएको छ ।