Butwal Today
माैसम पूर्वानुमान

न्यून चापीय रेखा सरदर स्थानमा, यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

२८ भाद्र २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावमा देशभर सामान्यतया बदली रहेको छ ।

आज बिहान कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ । पहाडी भूभागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।